सुदूरपश्चिम प्रदेशमा कोरोना सङ्क्रमण दर  बढ्दै, सक्रिय संक्रमितको संख्या २५५ पुग्यो
2022/08/05, 2:14
 
ss

सुदूरपश्चिम प्रदेशमा कोरोना सङ्क्रमण दर अत्यधिक बढेको छ । पछिल्लो समय स्वदेशसहित भारतमा सङ्क्रमण बढेपछि सुदूरपश्चिममा पनि सङ्क्रमण दर बढेको हो ।   पछिल्लो एक साताभित्रै प्रदेशमा सक्रिय कोरोना सङ्क्रमितको सङ्ख्या २५५ पुगेको प्रादेशिक स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

प्रदेशभरि बिहीबार मात्रै   ६१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ६५३ जनाको परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो ।   प्रादेशिक स्वास्थ्य निर्देशनालयका अनुसार ५४ जनामा एन्टिजेन र सात जनामा पीसीआर परीक्षण विधिबाट संक्रमण पुष्टि भएको छ । बिहीबार भारतबाट फर्किएका २६ जनामा संक्रमण पुष्टि भएको छ ।

गड्डाचौकीबाट फर्केका ११, गौरीफन्टा नाकाबाट फर्केका १४ र झुलाघाट नाकाबाट फर्केका एक जनामा संक्रमण पुष्टि भएको निर्देशनालयको तथ्याङ्कमा उल्लेख छ ।  बिहीबार ६१ जना संक्रमित थपिएसंगै  सक्रिय सङ्क्रमितको संख्या अढाई सय नाघेको हो । सबैभन्दा बढी १३२ जना सक्रिय संक्रमित कैलालीमा रहेका छन् । त्यस्तै, एक सय जना कञ्चनपुरमा, बैतडीमा २१ र डोटी/अछाममा एक/एक जना सक्रिय सङ्क्रमित रहेका छन् । 

सीमा नाकासंग जोडिएको जिल्लामा सक्रिय संक्रमित बढी मात्रामा बढ्दैछन् । बिहीबारदेखि भने डोटी र अछाममा पनि संक्रमण पुष्टि भएको छ । प्रदेशभरि हालसम्म पाँच लाख ६१ हजार ५०२ जनाको परीक्षण गर्दा संक्रमण पुष्टि हुनेको संख्या ६० हजार १३२ पुगेको निर्देशनालयले जनाएको छ । 

कोरोना सङ्क्रमण बढे पनि मान्छेले स्वास्थ्य सजकता अपनाएको भने देखिएको छैन । अत्यधिक व्यक्ति मास्क समेत लगाइरहेका छैनन् । संक्रमण बढ्दो भए पनि अब मान्छेमा विगतको जस्तो कोरोनाको त्रास छैन ।