भारतबाट चोरेर ल्याइएको नगद र गहना बरामद, व्यक्तिको विवरण प्रहरीले दिएन
2022/08/11, 12:51
 
dd

भारत पञ्जाबको पटियालाबाट चोरेर ल्याइएको भनिएको ४६ लाख नगद र केही गहना कैलाली प्रहरीले बरामद गरेको छ । ४६ लाख २८ हजार ४१८ रुपैयाँ नगदका अतिरिक्त ८७ ग्राम सुन, १६६ ग्राम चाँदी, दुई वटा तिलहरी, एक थान श्रीफूल, ४ थान धातुका कडा र एक जोर झुम्का बरामद गरिएको प्रहरीले उपलब्ध गराएको विवरणमा उल्लेख छ ।

प्रहरीले एक करोड भन्दा बढी मूल्यको सुन चोरी भएको बताए पनि संलग्नहरुले बिक्री गरिसकेको अवस्थामा केही नगद रकम मात्र बरामद गरिएको दाबी गरेको छ । तर नेपाल सुनचाँदी व्यवसायी महासंघ सुदूरपश्चिमका अध्यक्ष सन्तोष लामिछाने समेत जोडिएको यो चोरी प्रकरणमा पक्राउ परेर धरौटीमा छुटिसकेका व्यक्तिहरु बारेको सूचना भने कैलाली प्रहरीले उपलब्ध गराएको छैन ।

एक ग्राम लागुऔषधसहित कुनै व्यक्तिलाई पक्राउ गर्दा व्यक्तिगत विवरणसहित मिडियामा इमेल  मार्फत फोटो पठाउने गरेको प्रहरीले चोरीमा संलग्न भएको आरोप लागेर सीडीओको आदेशमा छुटिसकेका व्यक्तिहरुको विवरण उपलब्ध गराएको छैन । 

कैलालीका प्रमुख प्रहरी उपरीक्षक एसपी सोमेन्द्रसिंह राठौरले पक्राउ परेर धरौटीमा छुटेकाहरुको विवरण मिडियामा दिन नमिल्ने बताए । ‘हामी अहिले पनि अनुसन्धानकै प्रक्रियामा छौं । ती व्यक्तिहरुको विवरण दिन मिल्दैन, दिंदैनौं,’ एसपी राठौरले भने, ‘मिडियामा लेख्ने कुरामा तपाईंलाई जे मन लाग्छ त्यही लेख्नुस् । हामी यो घटनामा आधिकारीक रुपमा सूचना दिन सक्दैनौं ।’

सुन चोरीमा संलग्न भएको आरोपमा पक्राउ गरेकाहरुलाई कैलाली प्रहरीले अभद्र व्यवहारको मुद्दा चलाएको थियो । आरोपी सुन व्यवसायी लामिछाने सहितका ६ जना मंगलबार जिल्ला प्रशासन कार्यालयमा १०/१० हजार धरौटी बुझाएर छुटिसकेका छन् । तर उनीहरुको परिचय प्रहरीले अझै गोप्य राखेको छ । यो घटनामा काठमाडौं र डोटीमा समेत एक/एक जना पक्राउ परेको भए पनि उनीहरु समेत धरौटी बुझाएर छुटिसकेका छन् ।

प्रहरीले गत साउन १८ गते भारतको मुम्बई उड्न लागेको विमान रोकेर काठमाडौंबाट व्यवसायी लामिछानेलाई पक्राउ गरेको थियो । अन्य व्यक्ति त्यो भन्दा अघि र केही व्यक्तिहरु उनीसँगै पक्राउ परेका थिए तर ती व्यक्ति को हुन् ? भन्ने कुरा खुलेको छैन ।