कैलालीमा सम्बन्ध विच्छेदका मुद्धा बढे, दुई वर्षमा ८१५ मुद्धा दर्ता
2022/08/11, 4:13
 
ss

कैलालीमा सम्बन्ध विच्छेदका मुद्दा बढ्दै गएका छन । जिल्लामा पछिल्लो दुई वर्षमा ८१५ मुद्धा दर्ता भएका छन् । आर्थिक वर्ष ०७७/७८ मा २०५ मुद्धा दर्ता भएकोमा आर्थिक वर्ष ०७८/७९ मा ६१० मुद्धा दर्ता भएका छन् ।

आर्थिक वर्ष ०७७/७८ मा दर्ता भएकामध्ये १३० मुद्धा फछ्यौंट भए भने ७५ मुद्धा फछ्यौंट हुन बाँकी रहेको कैलाली जिल्ला अदालतका श्रेस्तेदार राइभान कुन्जेडाले बताए । आर्थिक वर्ष ०७८/७९ मा दर्ता भएकामध्ये ३९५ मुद्धा फछ्यौंट भएको श्रेस्तेदार राइभान कुन्जेडाले बताए । कुन्जेडाले सो अवधिमा २१५ मुद्धा फछ्यौंट हुन बाँकी रहेको बताए ।

महिला हिंसाको अवस्था, बढ्दो कानुनी चेतना, आर्थिक कमजोरी, सानै उमेरमा बिहे, अभिभावकको हस्तक्षेप, अर्कोसंग सम्बन्ध कायम गर्नु लगायतका कारण सम्बन्ध विच्छेदका घटना बढ्दै गएको कुन्जेडाले बताए । उनले भने, ‘नयाँ मुलुकी देवानी संहिता ऐन २०७४ ले पुरुषले पनि सम्बन्ध विच्छेद गर्न पाउने गरी कानुन बनेपछि सम्बन्ध विच्छेद गर्नेहरूमा पुरुषको सख्या पनि बढेको छ ।’

बालविवाह, वैदेशिक रोजगारीका कारण लामो समयसम्म श्रीमान नफर्किनु, महिलामा आएको चेतना र श्रीमान–श्रीमतीको समान अस्तित्व नस्विर्कानु लगायतका कारण देखाउँदै सम्बन्ध विच्छेद गर्नेको संख्या बढ्दो छ ।  धनगढी उपमहानगरपालिका वडा नम्बर १२ की निर्मला गिरी श्रीमानले लागु औषध सेवन गरेर दिनहुँ यातना दिन थालेपछि अलग हुन अदालतको ढोकासम्म पुगेकी बताइन् ।

कैलाली जिल्ला अदालतका शाखा अधिकृत नवराज पाण्डेले सम्बन्ध विच्छेदले बालबालिकालाई सडकमा ल्याउनेदेखी पारिवारिक विचलन बढ्नेसम्म भइरहेको बताए । बालबालिका भएका अधिकांश महिलाले सम्बन्ध विच्छेदपछि तत्कालका लागि राहत पाएको पाण्डेले  बताए ।

श्रीमान–श्रीमतीले एक अर्काको अस्तित्व स्वीकार गर्न सकेमा सम्बन्ध विच्छेदका घटनामा कमी आउन सक्ने महिला अधिकारकर्मी गीता चौधरीको भनाई छ ।