अपराजित देउवा डडेल्धुरामा यसपटक ‘सेफ’ छन् ?
2022/08/11, 4:32
 
deuba

 ०७४ सालको निर्वाचनमा काँग्रेसका अधिकांश शिर्ष नेताहरूले पराजय भोगे। तर काँग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा ०४८ साल देखिको आफ्नो किल्ला जोगाउन सफल भए। देउवाले २८ हजार ४४ मतसहित अपराजित यात्रा कायम राखेर छैटौं पटक जित हात पारे।

उनले माओवादी केन्द्रका खगराज भट्टलाई ६ हजार ९ सय २९ मतान्तरले हराएका थिए। ०४८, ०५१ र ०५६ मा देउवाले देशभरिमै सबैभन्दा बढी मतान्तरमा विजयी हुने नेता बन्ने अवसर पाएका थिए। ०४८ को आम निर्वाचनमा त उनले आफ्ना निकटतम प्रतिद्वन्द्वीभन्दा चार गुणा बढी मत पाएका थिए।

मंसिर ४ का लागि निर्वाचन घोषणा भएसंगै यो पटक पनि देउवा गृहजिल्ला डडेल्धुराबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्ने तयारीमा छन्। स्थानीय निर्वाचनको अवस्था हेर्दा देउवाको अपराजित यात्रा जारी रहने देखिन्छ। ७ पालिकामध्ये काँग्रेसले ५ पालिकामा प्रमुख र अध्यक्षमा जित हात पारेको छ। ५ पालिकामा उपप्रमुख र उपाध्यक्ष जितेको छ। ५२ वडामध्ये ३३ वडामा काँग्रेस विजयी भएको छ।

१३ वडामा माओवादी केन्द्र, ४ वडामा एमाले र २ वडामा बीपी काँग्रेसले जितेको छ। स्थानीय तहको चुनावमा जिल्लामा काँग्रेसको २१ हजार ७३५, माओवादीको १२ हजार ८७८, एमालेको १० हजार ४४९, नेकपा एकीकृत समाजवादीको ५ हजार ४१, राप्रपा ७१४ र जसपाको १५६ मत रहेको छ। यसमा एमालेसँग गठबन्धन गरेर चुनाव लडेको बीपी काँग्रेसबाट उम्मेदवार बनेका वडा अध्यक्षका उमेदवारले ३ हजार ५४२ मत पाएका छन्।

स्थानीय चुनावको जनमत हेर्दा यो पटक गठबन्धनका कारण देउवाले मतान्तर धेरै फराकिलो बनाउने सम्भावना बढेको डडेल्धुरा काँग्रेसका नेताहरु बताउँछन्। कांग्रेस, माओवादी, नेकपा एस र जसपाले स्थानीय तहमा पाएको मतलाई आधार मान्दा गठबन्धनको मत ३९ हजार ८१० हुन्छ। विपक्ष एमालेको मत १० हजार ४४९ हो। त्यो पनि बीपी कांग्रेससँग गठबन्धन गरेका कारणले बढेको काँग्रेस नेताहरु बताउँछन्।

काँग्रेस डडेल्धुराका उपसभापति तथा अमरगढी नगरपालिकाका मेयर डिल्लीराज जोशीले यसपटकको निर्वाचनमा जित निकाल्न झनै सहज हुने बताए। ‘स्थानीय तह निर्वाचनले नै काँग्रेसलाई जनताले रुचाएको पुष्टि गरिसकेको छ,’ जोशीले सुदूरआवाजलाई भने, ‘५ पालिका र अधिकांश वडामा हाम्रो जित भएको छ। यसपटक हामीलाई निकै सहज हुन्छ। प्रधानमन्त्री ज्यू सेफ हुनुहुन्छ।’

देउवाकै छत्रछायामा लामो समय राजनीति गरेका डडेल्धुरा कांग्रेसका पूर्वसभापति कर्ण मल्ल कारबाहीमा परेपछि बीपी काँग्रेसमा प्रवेश गरेका छन्। मल्ल अहिले बीपी कांग्रेसको वरिष्ठ उपाध्यक्ष छन्। काँग्रेस उपसभापति जोशी मल्ल अलगै पार्टीमा गएपछि काँग्रेसलाई स्थानीय तहमा चुनाव जित्न झनै सहज भएको बताउँछन्।

‘पार्टीभित्र रहेर पटकपटक अन्र्तघात हुँदै आएको थियो,’ उनले भने, ‘अहिले पार्टीबाट बाहिरिएपछि फेस टु फेस प्रतिस्पर्धा भयो। जनमत काँग्रेसको पक्षमा देखियो।’ स्थानीय चुनावको परिणामले नै मल्लले पार्टी छाड्दा काँग्रेसलाई सहज गरेको स्पष्ट भएको उनको भनाइ छ।

देउवाका प्रतिस्पर्धी माओवादी केन्द्रका खगराज भट्ट यसपटक कञ्चनपुरबाट निर्वाचन लड्ने चर्चा छ। गठनबन्धन भएपछि एउटा मात्रै निर्वाचन क्षेत्र भएको डडेल्धुरामा देउवा लड्ने लगभग तय भएपछि भट्टले कञ्चनपुरका लागि लविङ सुरु गरेका हुन्। बीपी कांग्रेसका वरिष्ठ उपाध्यक्ष कर्ण मल्ल चुनाव लड्ने पनि चर्चा छ। तर मल्लले भने चुनाव लड्ने वा नलड्नेबारे स्पष्ट पारेका छैनन्। बीपी कांग्रेसबाट लोकराज भट्टको नाम पनि चर्चामा छ।

एमालेबाट डडेल्धुराका पूर्वजिल्ला विकास समिति सभापति गजेन्द्र शाहीको नाम चर्चामा छ। बीबीसीमा प्रसारण हुने साझा सवाल कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रश्न सोधेर चर्चामा आएका सागर ढकालले भने डडेल्धुराबाट संसदीय चुनाव लड्ने घोषणा गरिसकेका छन्।

2