कैलालीमा निर्वाचन माहोल सुरु, दलहरूले भेला र प्रशिक्षण कार्यक्रम गर्दै
2022/08/12, 1:28
 
ss

मंसिर ४ गतेका लागि प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको मिति तय भएसँगै कैलालीमा चुनावी चहलपहल बढेको छ । सबै दलले चुनावी गतिविधि अगाडि बढाइरहेका छन् । कैलालीमा प्रतिनिधि सभामा शून्य सिट रहेको र प्रदेश सभामा दुई सिट प्रत्यक्ष जितेको कांग्रेस अहिले धेरै सिट संख्या जित्ने रणनीतिमा छ ।

नेपाली कांग्रेस कैलालीको जिल्ला कार्यसमितिको रणनीतिक भेलाले आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा पार्टीका उमेदवारलाई विजयी गराउन वडा तहसम्म रणनीतिक भेला गर्ने निर्णय गरेको छ ।

निर्वाचनलाई लक्षित गरेर केन्द्रीय सदस्य, जिल्ला कार्यसमितिका पदाधिकारी, प्रदेश निर्वाचन क्षेत्रका पदाधिकारी, नगर पदाधिकारी, वडा प्रतिनिधीसँगै भातृ संघ संगठनका पदाधिकारीलाई वडा तहसम्मै प्रतिनिधिका रुपमा खटाई रणनीतिक भेला गर्ने निर्णय गरेको जिल्ला सचिव केशव मिश्रले बताए ।  सामाजिक संजालमा पार्टीका नेताविरुद्ध टिकाटिप्पणी तथा आलोचना गर्ने कार्यकर्ताको निगरानी गर्न पार्टी सभापति नारायणदत्त भट्टले समिति गठन गरी गतिविधि अगाडि बढाएको जनाएका छन् ।

प्रतिनिधि सभा सदस्यका पाँच र प्रदेश सभा सदस्यका १० निर्वाचन क्षेत्र रहेको कैलालीमा नेकपा एमाले सबैभन्दा ठूलो दल हो । निर्वाचन क्षेत्र नम्बर २, ३, ४ र ५ बाट विजयी प्रतिनिधि सभा सदस्य एमालेका छन् । एमालेका प्रदेश सभा सदस्यहरुरू भने २ जना मात्रै छन् ।

एमालेबाट विभाजन भएको नेकपा एकीकृत समाजवादी, नेपाली कांग्रेस, माओवादी केन्द्रलगायत पार्टीले आगामी निर्वाचनमा गठबन्धन गरेमा एमालेलाई जिल्लामा साख जोगाउन मुस्किल हुने देखिएको छ । नेकपा एमालेका कैलाली कार्यबाहक अध्यक्ष दुर्गा जोशीले एमाले जिल्लाको ठूलो दल रहेकाले चुनावका लागि तयारी थालेको बताए ।

नेकपा एकीकृत समाजवादी पार्टी, माओवादी केन्द्र, नागरिक उनमुक्ति पार्टी पनि निर्वाचन केन्द्रित कार्यक्रमहरूमा व्यस्त छन् । नेताहरू प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचनका लागि उमेदवारको खोजीसमेत गर्न थालेका छन् ।

नेकपा एकीकृत समाजवादी कैलालीका अध्यक्ष भैरव रावलले सहमतिपछि मात्रै गठबन्धनको तयारीमा रहेको बताए । एकीकृत समाजबादी दुईजना प्रत्यक्ष निर्वाचित प्रदेश सांसद छन् । प्रतिनिधि सभामा भने एकीकृत समाजबादीका सांसद संख्या शून्य छ । उनीहरु पनि निर्वाचन लक्षित कार्यक्रम अगाडि बढाएका छन् । नयाँ पार्टी भएकाले संगठन बिस्तार र सदस्यता बिस्तारका कार्यक्रम तिब्र बनाएको अध्यक्ष रावलले बताए ।

उता, कैलालीमा चारवटा स्थानीय पालिकामा विजयी भएर उत्साहित भएको नागरिक उन्मुक्ती पार्टी पनि संगठन बिस्तार र भेला कार्यक्रमलाई तिब्र बनाएको छ । कैलालीको पूर्वि क्षेत्र र थारु बाहुल्य क्षेत्रमा पकड बनाएको उन्मुक्ती पार्टी रेशम चौधरीको पार्टी हो । निर्वाचन आयोगमा दर्ता गराएर कैलालीको पाँचवटौ निर्वाचन क्षेत्रमा उमेदबारी दिने योजना यो पार्टीको छ । “अहिले हामीले संगठन निर्माण र कमिटी बिस्तारको अभियानमा रहेका छौँ,” नागरिक उन्मुक्ती पार्टीका केन्द्रीय सदस्य अरुण चौधरीले भने ।