भएन बजार अनुगमन
2022/08/12, 1:31
 
dd

सुदूरपश्चिमको मुख्य पर्व गौरा र हरितालिका तीज नजिकिएसँगै बैतडीका मुख्य बजारमा किनमेलको भीड लाग्न थालेको छ ।  बजारका पसलको अनुगमन  भने हुन सकेको छैन् । जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा नियमित रुपमा प्रत्येक महिना अनुगमन गर्ने भनिए पनि दुई महिनासम्म पनि यहाँ अनुगमन हुन नसकेको हो ।

बजारमा अनियमिता हुन नदिने गर्ने उद्देश्यले गरिने अनुगमन  गत जेठ देखि हुनसकेको छैन् । चाडपर्व नजिकिएका बेलामासमेत  बजार अनुगमन नहुँदा कालोबजारी, म्याद नाघेका अखाद्य वस्तु बिक्री वितरणसमेत हुने गरेको उपभोक्ताको  गुनासो छ ।

कालोबजारी, मूल्यवृद्धि, अखाद्य वस्तु बिक्रीवितरण बढ्दो रुपमा रहेको भए पनि सम्बन्धित निकायले बजार अनुगमनका लागि चासो नदेखाएको गुनासो उपभोक्ताको छ ।  उपभोक्ताको खाद्य अधिकारलाई सुनिश्चित् गर्न र कालोबजारी रोक्न नियमित रुपमा बजार अनुगमन गर्नुपर्ने दोगडाकेदार ३ श्रीकोटका हेमराज गिरीले माग गरे ।

“बजार अनुगमन नहुँदा कालोबजारी बढ्यो  । यसलाई नियन्त्रण गर्नुपर्छ ।  अनुगमनलाई औपचारिकताका लागि मात्रै नभइ प्रभावकारी रुपमा गर्नु जरुरी छ,”उनले भने ।  जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी  खगेन्द्र भारतीले भने जिल्ला प्रशासन कार्यालयले भने केही दिनमै बजार अनुगमन सुरु गर्ने जानकारी दिए ।

“अब छिट्टै जिल्लाका सरोकारवाला सम्मेलित अनुगमन टोली बनाउछौँ, यसपछि जिल्लाका बजार अनुगमन हुन्छ,” उनले भने । बजारमा म्याद गुज्रेका सामग्री बिक्री वितरण नहोउन्,  कालोबजारी हुन नपाओस् र महँगी नियन्त्रण गर्ने उद्देश्यले बजार अनुगमनको  गरिन्छ । यसबाट व्यापारी र उपभोक्ता दुवै सचेत हुन्छन्। 

साथै उपभोक्तालाई आफ्नो अधिकारको बारेमा जागरुक गराउँदछ भने व्यवसायीलाई पनि मिति हेरेर सामान किन्न प्रेरित गर्ने गर्दछ । समय समयमा अनुगमन गर्दा व्यापार व्यवसायमा अनुशासन कायम हुनेसमेत विश्वास गरिन्छ । गत वर्ष बजार अनुगमनबाट ४६ हजार ६८७ बराबरको म्याद नाघेको सामग्री बरामद गरी नष्ट गरिएको थियो ।  अनुगमनका क्रममा ३३ व्यवसायीमाथि कारबाही गरिएका थियो ।  उक्त कारबाहीबाट रु दुई लाख ४५ हजार जरिवाना असूल भएको प्रशासनले जनाएको छ ।