धनगढीबाट ड्रममा पेट्रोलियम पदार्थ लगेर बैतडीमा नियमविपरीत बिक्री
2022/08/13, 1:20
 
ss

बैतडीमा एक सयभन्दा बढी व्यापारीहरू नियमविपरीत डिजेल र पेट्रोलको व्यापार गर्दै आएका छन्। उनीहरू धनगढी र डडेलधुराबाट ड्रममा पेट्रोलियम पदार्थ लगेर बिक्री गर्दछन्।

जिल्लामा एक मात्र आयल स्टोर रहे पनि एक सयभन्दा बढी व्यापारीहरूले अवैध रूपमा पेट्रोलियम पदार्थको कारोबार गर्दै आएका हुन्। जिल्ला सदरमुकाम गोठालापानी, देहिमाण्डौँ, पाटन, खोड्पे, गोकुलेश्वर, सिल्लेगाडालगायतका सबै बजारमा दर्जनौँ व्यापारीले खुला रूपमा पेट्रोलियम पदार्थको बिक्री वितरण गर्छन्। 

यसरी पेट्रोलियम पदार्थ बिक्री गर्दा दुर्घटनाको जोखिम छ भने उनीहरूले अत्यधिक महँगो भाउमा बिक्री गर्दा यातायात व्यवसायीले गाडी भाडासमेत बढाएका छन्। यस्ता व्यापारीका कारण बजारहरूमा दुर्घटनाको जोखिम बढेको निर्माण व्यवसायी मदनमोहन विष्टले बताए। व्यस्त बजारहरूका औषधि पसल, होटेल तथा मदिरा पसल, कपडा पसल, जुत्ता पसल, किराना पसलदेखि तरकारी पसलसम्ममा पेट्रोलको बिक्री हुने गरेको उनले बताए। 

अवैध कारोबारीले डिजेल र पेट्रोल अत्यधिक मूल्यमा बिक्री गर्दै आएका छन्। बैतडीको सतबाँजमा रहेको एक मात्रै भण्डारी आयल स्टोरले भने डिजेल मात्रै बेच्ने गरेको छ। उक्त आयल स्टोरलाई जिल्ला प्रशासनले पटक–पटक पेट्रोलको कारोबार गर्न निर्देशन दिए पनि तीन वर्षदेखि आनाकानी गरिरहेको बताइएको छ। यता, जिल्लामा पेट्रोलियम पदार्थको अवैध कारोबारका विषयमा जिल्ला प्रशासन कार्यालयले चासो देखाएको जनाएको छ।