आज साउनको अन्तिम सोमबार, शिवालयमा भिड
2022/08/15, 1:40
 
ss

सौरमास अनुसार साउन महिनाको अन्तिम सोमबारका अवसरमा शिवालयमा बिहानैदेखि भक्तजनको भीड लागेको छ । साउन महिना र सोमबार भगवान् शिवको महिना र बारका रुपमा लिइन्छ । साउनको सोमबार पारेर भगवान् शिवको दर्शन गरेमा मनोकामना पूरा हुने विश्वास गरिन्छ ।

यस अवसरमा विशेष गरी महिला भक्तजनको शिवालयमा भीड लाग्ने गर्छ । साउनको सोमबार महिला व्रत बसी भगवान् शिवको पूजा आराधना गर्ने गर्छन् । आज अन्तिम सोमबार भएकाले गोदान र पूर्णपात्र गरी साउने सोमबारको व्रत समापन गरिन्छ ।

साउनको सोमबार व्रत बसी भगवान् शिवको पूजा, आराधना गरेमा विवाहित महिलाले अटल सौभाग्य प्राप्त गर्ने र अविवाहित महिलाले सुयोग्य वर पाउने धार्मिक विश्वास छ । यस अवसरमा आज काठमाडौँ उपत्यकाका अन्य शिवालयमा पनि भक्तजनको भीड लागेको छ ।

राजधानीको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर महादेव मन्दिर, पूर्वी भेगस्थित पेप्सीकोलाको नागेश्वर मन्दिर, वसन्तपुरस्थित सानो पशुपतिनाथ मन्दिर, भक्तपुरको डोलेश्वर, ललितपुरको सन्तानेश्वर महादेवलगायत शिवालयमा पनि भक्तजनको भीड लागेको जनाइएको छ । यता धनगढीका बिभिन्न शिवालय मन्दिरमा पनि भक्तजनको भीड लागेको छ ।

वैदिक सनातन हिन्दु धर्मावलम्बीले वर्षमा एकपटक साउन महिनामा घरघरमा रुद्राभिषेक पनि गर्ने गर्छन् । यस वर्ष सौरमासअनुसारको साउन महिनामा पाँच सोमबार परेको छ । पहिलोपटक व्रत बस्नेका लागि पाँच सोमबार परेको वर्ष उत्तम मान्ने प्रचलन छ ।