कैलालीमा गएको स्थानीय तहको निर्वाचनमा उम्मेदवार बनेकाहरुले अहिलेसम्म पनि खर्च विवरण बुझाएका छैनन्। १३ स्थानीय तह रहेको कैलालीमा वैशाख ३० गते निर्वाचन सम्पन्न भएकोमा ३० दिनभित्र विवरण वुझाउनुपर्ने प्रावधान रहेको छ । मत परिणम आएको ३० दिनभित्र खर्च विवरण बुझाउनुपर्ने भएपनि कैलालीका उम्मेदवारले कानूनको बेवास्ता गरेका हुन्।
गत स्थानीय निर्वाचनमा जिल्लाबाट ३ हजार ७३ उम्मेदवार रहेका थिए। तर हालसम्म ५ सय ७० जनाले मात्रै खर्च विवरण बुझाएको जिल्ला निर्वाचन कार्यालय कैलालीका सूचना अधिकारी राजेश चौधरीले बताए। बाँकी २ हजार ५०३ जनाले निर्वाचन खर्च विवरण बुझाएका छैनन,’ उनले भने।
जिल्ला निर्वाचन कार्यालयले निर्वाचन सकिएको एक महिनाभित्र चुनावी खर्च विवरण बुझाउन सार्वजनिक सूचना जारी गरेको थियो। उम्मेदवारले सम्पूर्ण खर्च विवरण स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा ६४ को उपदफा २ र स्थानीय तह निर्वाचन सम्बन्धी २०७३ को नियम ४० तथा आयोगद्वारा स्वीकृत निर्वाचन आचारसंहिता बमोजिम खर्च विवरण बुझाउनुपर्ने प्रावधान छ।
उम्मेदवारले मतपत्र खरिद, सवारी साधन तथा गाडी घोडाको प्रयोग, सवारी तथा इन्धन, प्रचारप्रसार सामग्री, ढुवानी, गोष्ठी, कार्यकर्ता परिचालन, कार्यालय सञ्चालन, प्रतिनिधि परिचालन लगायत विविध निर्वाचन खर्च विवरण पठाउनुपर्ने नियम छ। निर्वाचन आयोगले चुनावको खर्च विवरण नबुझाउने उम्मेदवारको छुट्टै विवरण पठाउन निर्देशन दिएको थियो। आयोगले उक्त विवरण नबुझाउनेलाई कारबाही गर्ने जिल्ला निर्वाचन कार्यालय कैलालीका सूचना अधिकारी चौधरीले बताए।