सुदूरपश्चिममा सक्रिय सङ्क्रमितको सङ्ख्या चार सय नाघ्यो
2022/08/16, 4:48
 
ss

सुदूरपश्चिम प्रदेशमा सक्रिय सङ्क्रमितको सङ्ख्या चार सय २७ पुगेको छ । पछिल्लो समय सङ्क्रमण बढेपछि सक्रिय सङ्क्रमितको सङ्ख्या बढेको हो । केही दिनसम्म कैलाली, कञ्चनपुरमामात्रै सङ्क्रमण देखिएको थियो । अहिले प्रदेशको दार्चुलाबाहेक बाँकी सबै जिल्लामा सक्रिय सङ्क्रमित थपिएका छन् ।

सबैभन्दा बढी २२४ जना सक्रिय सङ्क्रमित कैलालीमा रहेका छन् । यस्तै, कञ्चनपुरमा १६८ जना सक्रिय सङ्क्रमित छन् । बैतडीमा १६, अछाममा आठ, बझाङमा पाँच, डडेलधुरामा चार र डोटी, बाजुरामा एकरएक जना सक्रिय सङ्क्रमित रहेका छन् । अहिले भारतबाट फर्कने व्यक्तिमा पनि सङ्क्रमण पुष्टि बढ्दो छ । तर, त्योभन्दा बढी सङ्ख्यामा यहाँ रहेकै व्यक्तिमा कोरोना पुष्टि भइरहेको छ । प्रादेशिक स्वास्थ्य निर्देशनालयका अनुसार सोमबार सुदूरपश्चिममा एक सय जनामा सङ्क्रमण पुष्टि हुँदा ३७ जना भारतबाट फर्केका व्यक्ति थिए । बाँकी सबै यहाँ रहेका व्यक्तिमा सङ्क्रमण पुष्टि भएका हो । 

सङ्क्रमण बढे पनि अस्पतालमा उपचारका लागि भर्ना हुनेको सङ्ख्या भने विगतको तुलनाका कम छ । अहिले आठ जना सङ्क्रमित अस्पताल भर्ना भएका छन् । जसमध्ये एक जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । बाँकी सक्रिय सङ्क्रमित घरकै आइसोलेसनमा स्वास्थ्य लाभ गरिरहेका जनाइएको छ । 

अहिले सङ्क्रमण दर बढे पनि अस्पताल भर्ना हुनेको सङ्ख्या न्यून रहेको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले बताए। ‘अहिले सङ्क्रमितलाई त्यस्तो जटिल समस्या छैन’, उनले भने ‘खोप लगाएका कारणले पनि त्यस्ता भएको हुन सक्छ ।’ 

यो प्रदेशमा हालसम्म पाँच लाख ७१ हजार ९४५ जनाको परीक्षण गरिएको छ । परीक्षण गरिएकामध्ये ६० हजार ८८९ जनामा सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमण पुष्टि भएकाध्ये ६३४ जनाले ज्यान गुमाएका छन् भने ५९ हजार ८२८ जना निको भएका छन् । 

यस पटक केही दिन अगाडि कञ्चनपुरका एक सङ्क्रमितको सेती प्रादेशिक अस्पतालमा उपचारको क्रममा ज्यान गएका थियो । मृतक ति व्यक्तिले कोरोनाविरुद्धको खोप नलगाएको अस्पतालका सूचना अधिकारी श्रेष्ठले बताए । कोरोना सङ्क्रमण तीव्र गतिमा पनि सतर्कता भने शून्य छ । स्वास्थ्य शतर्कता नअपनाइएका कारण सङ्क्रमण तीव्र गतिमा फैलि रहेको छ ।