हुलाकी राजमार्गको थेकीपुरमा ११ वर्षअघि पुल निर्माण थालिए पनि अझै पूरा हुन सकेको छैन। भजनी नगरपालिका –३ को थेकीपुरमा २०६८ सालमा पुल निर्माण सुरु भएको थियो। पुल निर्माण गर्ने कम्पनीका ठेकेदार भागेपछि पुल निर्माण अलपत्र परेको हो।
चार करोड ४३ लाख रुपियाँमा साल्पारशेर्पा–लामा–बिरुवाले संयुक्त रूपमा सो पुल निर्माणको ठेक्का पाएको थियो। ३० महिना समयावधि रहेको सो पुलको म्याद पटक–पटक थप गर्दा पनि नबनाएपछि हुलाकी राजमार्ग आयोजनाले ठेकेदारसँग ठेक्का तोड्ने तयारी थालेको छ। हुलाकी राजमार्ग आयोजनाका इन्जिनियर पदम मडैका अनुसार अब पुरानो ठेक्का तोडेर नयाँ ठेक्का गरी पुलको बाँकी काम सम्पन्न गरिनेछ।
दशक लामो समय भइसक्दा पनि पुल निर्माण कार्य पूरा नभएपछि स्थानीयसहित जनप्रतिनिधिमा पनि नैराश्यता छाएको छ। कान्द्रा नदीमा पुल नहुँदा स्थानीयले धेरै दुःख पाएको भजनी नगरपालिका–३ का अध्यक्ष विक्रम चौधरीले बताए ।