बलात्कार आरोप लागेका क्याम्पस प्रमुख नेगी पुर्पक्षका लागि कारागार चलान
2022/08/18, 2:37
 
ss

बलात्कारको आरोप लागेका बैतडीको पुर्चौंडी बहुमुखी क्याम्पसका प्रमुख राजेन्द्रसिंह नेगीलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ ।

जिल्ला अदालतले नेगीलाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक प्रेमबहादुर शाहीले जानकारी दिए ।

कैलाली घर भई पुर्चौंडीमा ज्यालामजदुरी गर्दै आएकी एक महिलामाथि क्याम्पस प्रमुख नेगीले बलात्कार गरेको आरोप लागेको थियो । गत असार २० गते पानी माग्ने निहुँमा महिलामाथि नेगीले बलात्कार गरेको आरोप लागेको हो ।

पीडित महिलाले आफूमाथि जबरजस्तीकरणी गरेको भन्दै दिएको जाहेरीका आधारमा नेगी विरुद्ध जबरजस्तीकरणी मुद्दा दर्ता भएर अनुसन्धान गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी बरिष्ठ नायब निरीक्षक सुरतबहादुर चन्दले बताए । उक्त घटनामा प्रहरीले आफ्नो अनुसन्धान सकाएर अदालतमा पेश गरेको थियो । 

जबरजस्तीकरणी आरोप लागेपछि नेगी साउन पहिलो साता आँफै प्रहरी कार्यालयमा पुगेका थिए । उनले गएको असार २७ गते क्याम्पस प्रमुख पदबाट राजीनामा समेत दिएका थिए ।