बैतडी कारागारमा देखियो १६ जना कैदीमा कोरोना, भेटघाट गर्न रोक
2022/08/18, 3:53
 
बैतडी कारागार

बैतडी –  जिल्ला कारागार बैतडीमा १६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। बुधवार चार र बिहीबार १२ जनामा कोरोना पुष्टि भएको कारागार प्रमुख राधा भण्डारीले बताइन् ।  ‘बुधवार ४ जनामा पुष्टि भएको हो, त्यसपछि थप ८९ जनामा एन्टीजेन परीक्षण गर्दा थप १२ मा कोरोना देखियो,’ उनले भनिन् ।

कोरोना पुष्टि भएकालाई अलग्गै राखिएको कारागार प्रमुख भण्डारीले बताइन् । आजदेखि कैदीलाई भेटघाट गर्न रोक लगाइएको उनले बताइन् । ठाउँ अभावमा बसाई व्यवस्थापनमा असहज भइरहेको उनले बताइन् । २५ जना कैदी अटाउने क्षमता भएको कारागारमा ९३ जना कैदी राखिएको छ। क्षमताभन्दा बढी कैदी रहेकाले बसाई व्यवस्थामा असहज हुने गरेको कारागार प्रमुख भण्डारीले बताइन् ।

२०४० सालमा २५ जना कैदी बन्दी अटाउने भवन निर्माण भएको थियो। बैतडीमा समुदाय स्तरमै कोरोना फैलिएको छ । केही दिनअघि भारतबाट आउनेहरूमा कोरोना देखिने गरेको थियो। पछिल्लो समय समुदायबाट जाँच गराउन लागि आउनेमा पनि कोरोना देखिने गरेको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेश प्रसाद भट्टले जानकारी दिए ।