कैलालीको गेटामा चिकित्सा विश्वविद्यालय सञ्चालन गर्न निर्देशन
2022/08/19, 12:20
 
ss

कैलालीको गेटामा चिकित्सा विश्वविद्यालय सञ्चालन गर्न निर्देशन दिइएको छ। प्रतिनिधि सभा शिक्षा तथा स्वास्थ्य समितिले प्रस्ताविक गेटा मेडिकल कलेजलाई विश्वविद्यालयका रुपमा अघि बढाउन सरकारलाई निर्देशन दिएको हो। 

समितिले निर्देशनमा लेखेको छ, ‘नेपालमा भौगोलिक तथा बिषयगत विश्वविद्यालयहरु स्थापना र संरचनाको क्रम चलिरहेको सन्दर्भमा विकासको क्षेत्रीय सन्तुलन तथा स्थानीय जनसमुदायको भावनालाई समेत कदर गर्दै गेटालाई स्वास्थ्य शिक्षाको बिषयगत विशिस्त्रीकरण हुने गरि चिकित्सा विश्व विद्यालयका रुपमा स्थापना र सञ्चालन गर्न सकिने आधार देखिन्छ। य सन्दर्भमा शिक्षा, विज्ञान तथा प्राविधिक मन्त्रालयलाई आवस्यक कार्य अघि बढाउन निर्देशन दिन उपयुक्त हुन्छ।’

पाँच अर्ब बढी लगानीमा निर्माण थालिएका भौतिक पूर्वाधारको काम ९० प्रतिशत पूरा भएको छ। अझै २ करोड लगानी हुने देखिएको छ।गत असार २६ र २७ गते स्थलगत अनुगमनमा आएको समितिले चिकित्सा विश्वविद्यालयको रुपमा स्थापना र सञ्चालन गर्न सकिने आधार सरकारलाई प्रस्तुत गरेको हो। सम्भाव्यता अध्ययनका लागि २०६५ सालमा बजेट विनियोजन गरेको सरकारले २०६६ सालमा मेडिकल कलेज संरचना निर्माण विकास समिति गठन विकास ऐन २०१३ अनुसार काम सुरु गरेको थियो। कलेजका पूर्वाधार निर्माणको काम आर्थिक वर्ष २०७०/०७१ बाट सुरु भएको थियो। 

प्रारुपमा अन्योल र विवाद भएपनि नेकपा एमालेका सचिव तथा प्रतिनिधि सभा सदस्य योगेश भट्टराईको नेतृत्वमा समितिले अध्ययनमा आएको हो। समितिले स्थलगत अनुगमन र अन्तरकृयापछि मेडिकल विश्वविद्यालय सञ्चालन गर्न निर्देशन दिएको हो।  गेटामा ६ सय शय्याको अस्पताल र मेडिकल कलेज सञ्चालन गर्न पूर्वाधार बनिसकेको प्रतिवेदनमा उल्लेख छ। १३ वटा चिकित्सकका लागि आवासिय भवन, २६ वटा आधुनिक भवन, १५० जना विद्यार्थी अट्ने कक्षाकोठा, लाइबेरी, छात्रावास, कुरुवा कक्ष, शव घर, अक्सिजन प्लान्ट भवन, लाउन्डी भवन, क्यान्टिन र प्रशासनिक भवन निर्माणको काम पूरा भएको छ। सडक पूर्वाधार र फोहोर पानी व्यवस्थापनको काम बाँकी छ।