आइडिया ग्रुपको सुदूरपश्चिममा पर्यटक भित्र्याउने ‘आइडिया’
2022/08/20, 3:08
 
ss

धनगढी – धार्मिक तथा प्राकृतिक छटाले मनोरम छ, सुदूरपश्चिम प्रदेश। सुदूरपश्चिम प्रदेशमा अवस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज, खप्तड राष्ट्रिय निकुञ्ज, लुम्बिनी प्रदेशमा पर्ने बर्दिया राष्ट्रिय निकुञ्ज र भारतकै दोस्रो ठूलो दुधुवा नेसनल पार्कको समिपमा बसेको सुन्दर ठाउँ सुन्दर सुदूरपश्चिम। 

धार्मिक, सांस्कृतिक एवं प्राकृतिक छटाले भरिपूर्ण भए पनि अन्य प्रदेशको तुलनामा आन्तरिक तथा बाह्य पर्यटकको उपस्थिति न्यून छ, सुदूरपश्चिममा। अन्य प्रदेशको तुलनामा विकासमा पछि परेको सुदूरपश्चिम प्रदेशलाई पर्यटनको माध्यमबाट समृद्ध बनाउन सकिन्छ। तर पर्याप्त सुविधासम्पन्न होटल र अन्य पूर्वाधार नहुँदा बाह्य पर्यटक भित्र्याउन सकिएको छैन। प्रदेशको अस्थायी मुकाम धनगढी र महेन्द्रनगरमा पहाडी जिल्लाभन्दा बढी होटल भए पनि अहिले पनि पर्याप्त छैन। पछिल्लो समय आशाको दियो जलेको छ।

प्रदेश राजधानीसमेत तोकिएको गोदावरी नगरपालिका–७ हरैयामा क्यासिनोसहितको पाँचतारे होटल शिलान्यास भएको छ। गैरआवासीय नेपालीको आइडिया फर नेपाल प्रालि र सौभाग्य रियलस्टेट हाउजिङले दुई बिघा क्षेत्रफलमा २ अर्ब बढी लागतमा दुई वर्षभित्र सक्ने गरी  काम अघि बढाएको छ। १५ तलाको भवनमा गेस्टरुम, सेमिनार, क्यासिनो, इन्फानेटी पुल, स्काई बार, स्काई वाक, पटेटो क्याफे, जिमलगायतका सुविधा रहने आइडिया फर नेपालका अध्यक्ष गोकर्ण श्रेष्ठले बताए।

‘सुदूरपश्चिमलाई सुन्दर पश्चिम बनाउने अभियानमा जुटौं नाराका साथ हरैयामा होटल एन्ड क्यासिनो शिलान्यास गरिएको हो’, अध्यक्ष गोकर्ण श्रेष्ठले भने, ‘अत्याधुनिक र सुविधासम्पन्न होटलले प्रदेशको कला, संस्कृतिलाई समेत संरक्षण र सम्बद्र्धन गर्नेछ।’ २३ बिघामध्ये २ बिघामा होटल निर्माण गरिने अध्यक्ष श्रेष्ठले बताए। उनले भने, ‘यसलाई हामीले सम्भवतः सुदूरपश्चिमकै ठूलो होटल बनाउनेछौं।’ भदौपछि निर्माण सुरु भइ दुई वर्षभित्र सम्पन्न गरिने उनको भनाइ छ। 

यस्तो छ आइडिया ग्रुपको योजना

पूर्व–पश्चिम राजमार्गअन्तर्गत हरैयामा २३ बिघा जमिन ओगट्ने होटल अत्तरिया बजारबाट चार किलोमिटर पूर्वमा छ। ‘जमिनको बीचमा सानो खोला अनि १ किलोमिटरको ठूलो मूल चारैतर्फबाट जोडिएको स्थानमा ताल बनाउने योजना छ। त्यसको बीचमा एउटा आइल्यान्ड बनाउँछौं। यो तालमा हामी डुङ्गा चलाउने व्यवस्था गर्नेछौं,’ अध्यक्ष श्रेष्ठले भने।

यसलाई सुविधासम्पन्न सिटीको रूपमा विकास गरी त्यहीँ क्षेत्रमा हस्पिटल, स्कुल, सपिङ कम्प्लेक्स निर्माणका साथै आफ्नै बस सञ्चालन गरिनेछ। यसबाट स्थानीयले सेवा–सुविधा निःशुल्क पाउने उनले बताए।  श्रेष्ठले भने, ‘हामी १०० बढी अपार्टमेन्ट बनाउनेछौं। अहिले सरकारले अपार्टमेन्ट विदेशीलाई पनि बिक्री खुला गरेको छ। भारतीय साथीहरुले अपार्टमेन्ट किन्छौं भनिरहेका छन्। मुख्य सडक र साइडको सडकमा १०० बढी कमर्सियल प्लट बनाउने योजना छ।’

यो संरचनाभित्र आइडिया होटल एन्ड क्यासिनो, आइडिया हाउजिङ, आइडिया अपार्टमेन्ट, लेक, आइसल्यान्ड रहने उनले बताए। यो सुविधाले सुदूरपश्चिमलाई सुन्दर पश्चिम बनाउने आफूहरुको योजना साकार हुने उनले सुनाए।

यसरी गरिँदै छ स्रोतको जोहो

परियोजना सम्पन्न गर्न २ अर्ब बढी लागत लाग्ने देखिएको आइडिया ग्रुपले जनाएको छ। त्यो रकमको स्रोत ल्याउने सन्दर्भमा अध्यक्ष श्रेष्ठले भने, ‘विदेशी लगानीकर्तालाई पनि हामीले आमन्त्रण गरेका छौं। भारत, हङकङ लगायत देशका नागरिक लगानीका लागि इच्छुक छन्। केहीसँग लगानी विषयमा सम्झौता समेत भइसकेको छ। बाँकी रहेको रकम स्थानीय बैंकसँग सहकार्य गरेर जुटाउँछौं।’

रकम जुटाउन भारतमा लामो समय बसेर मार्केटिङ र रिसर्च गर्नुका साथै धेरै ट्राभल एजेन्टस्सँग पनि कुरा भएको उनले जानकारी दिए। अध्यक्ष श्रेष्ठले भने, ‘भारतको तल्लो भागमा हिमाल, पहाड छैन। भारतीयको ठूलो संख्या त्यो हेर्न यहाँ आउँछन्। यहाँ भारतकै दोस्रो ठूलो नेसनल पार्क र यता नेपालमा हाम्रै सेरोफेरोमा दुई वटा निकुञ्ज छन्। त्यसैले हामीलाई परियोजना छिटो सक्ने उत्साहित बनाएको छ।’