धनगढी- कैलालीको कैलारी गाउँपालिका–७ रामपुरस्थित कटैनी नदीले बगाएको काठे पुल निर्माणमा स्थानीयवासी जुटेका छन् ।
सामुदायिक वनले काठ उपलब्ध गराएपछि भुईयाँफाँटा र रामपुर गाउँवासीले नदीमा नयाँ काठे पुल बनाउन थालेका हुन ।
पुल निर्माणका लागि दुवै गाउँको सामुदायिक वनले काठ उपलब्ध गराएको रामपुरका गाउँका भलमन्सा रामलाल चौधरीले जानकारी दिए ।
‘रामपुर र भुईयाँफाँटाको सामुदायिक वनबाट काठ उपलब्ध भएपछि दुवै गाउँका जनताको श्रमदानमा पुल निर्माण कार्य भइरहेको छ’, उनले भने,‘अझै तयार पार्न एक हप्ता जति समय लाग्नेछ ।’
उनका अनुसार पुल निर्माणमा गाउँका महिला पुरुषले श्रमदान गरिरहेका छन् । गत असारमा आएको बाढीले त्यहाँ रहेको काठे पुल बगाएको थियो । महत्वपूर्ण कृषि सडक अन्तर्गतको पुल बगेपछि ओहोर दोहोरमा समस्या भएको थियो । सवारी साधन गुडाउन ठप्प भएको थियो ।