धनगढी - कैलालीको धनगढीमा महालेखा परीक्षकको कार्यालय र प्रदेश सभाको अन्तरसम्बन्ध सुधार सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । सुदूरपश्चिम प्रदेश सभाको सार्वजनिक लेखा समितिको आयोजनामा कार्यक्रम धनगढीमा सम्पन्न भएको हो ।
कार्यक्रममा पूर्व उप–महालेखा परीक्षक बाबुराम गौतमले प्रदेश सभा सदस्यहरूलाई प्रशिक्षण दिनुभएको थियो । सङ्घीयता पछि पहिलो अभ्यासका रूपमा अघि बढेका प्रदेश सभाका विषयगत समिति र त्यसमा पनि आर्थिक पारदर्शिता कायमको प्रमुख भूमिकामा रहने सार्वजनिक लेखा समितिको कार्यसम्पादन कानुनी अज्ञानताले अपेक्षा अनुसार अघि बढ्न नसकेको अवस्था छ । त्यसलाई थप सुदृढ बनाएर प्रदेश सरकारलाई आर्थिक पारदर्शितामा जिम्मेवार बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको सुदूरपश्चिम प्रदेश सभाको सार्वजनिक लेखा समितिकी सभापति कुमारी नन्दा बमले बताउनु भयो । सार्वजनिक लेखा समिति तथा प्रदेश सभाका अन्य सम्पूर्ण समितिलाई महालेखा परीक्षक सम्बन्धी ज्ञान अभिवृद्धि हुने अपेक्षा गरिएको कार्यक्रम सम्पन्न पछि बमले प्रतिक्रिया दिनु भयो । यो अन्तरक्रिया पछि अब सार्वजनिक लेखा समितिको कार्य सम्पादन थप चुस्त बन्ने समेत उहाँले बताउनु भयो ।
कार्यक्रममा पूर्व उप–महालेखा परीक्षक गौतमले महालेखा परीक्षकको चौथो वार्षिक प्रतिवेदन, २०७९ माथि छलफल र सार्वजनिक लेखा समितिको प्रभावकारी कार्यसम्पादनका लागि गर्नुपर्ने कार्यहरूका बारेमा प्रस्तुति राख्नु भएको थियो । सार्वजनिक लेखा समितिका सभापति बमको अध्यक्षतामा भएको कार्यक्रममा प्रशिक्षकको रूपमा गौतम रहनु भएको थियो । त्यस्तै प्रदेश सभाका विभिन्न समितिका सदस्यहरू तथा प्रदेश सभा सदस्य र ती विषयगत समितिका कर्मचारीहरूको समेत सहभागिता रहेको थियो । संयुक्त राष्ट्र सङ्घीय विकास कार्यक्रम (युएनडिपीको) संसद् सहयोग परियोजनाको सहयोगमा कार्यक्रम आयोजना गरिएको हो ।