मिटरब्याजी विरुद्ध कैलालीका ४३ जनाले उजुरी दर्ता गराए
2022/08/22, 2:11
 
ss

धनगढी- कैलालीका ४३ जनाले मिटरब्याजी विरुद्ध उजुरी दिएका छन्। गृह मन्त्रालयले भदौ ५ गतेसम्म मिटरब्याजीबाट पीडित भएकाहरुलाई उजुरी दिन आह्वान गरेको थियो। 

सोही अनुसार कैलालीका ४३ जना पीडितले आइतबारसम्म मिटरब्याजी विरुद्ध उजुरी दिएका हुन्। मन्त्रालयको आह्वानपछि साउन २८ गतेदेखि नै उजुरी दर्ता गर्न पीडितहरु आएको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ। प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले गृह मन्त्रालयको निर्देशन अनुसार जिल्लामा पीडितहरुको उजुरी संकलन गरिएको बताए।

उनले संकलन भएका उजुरीहरुलाई गृह मन्त्रालयसम्म पठाइने र मन्त्रालयको निर्देशनपछि आगामी कदम चालिने बताए। मिटरब्याजीले आर्थिक विपन्न तथा निरक्षर परिवारलाई ब्याजमा रकम दिएर उनीहरुको विचल्ली बनाएको समाचार आएपछि सरकारले उनीहरुविरुद्ध कडा कदम चालेको छ।