बन्द गराउने विप्लवका ८ जना पक्राउ, यस्तो छ सुदूरपश्चिममा बन्दको प्रभाव 
2022/08/23, 1:45
 
बन्द गराउने विप्लवका ८ जना पक्राउ, यस्तो छ सुदूरपश्चिममा बन्दको प्रभाव 

धनगढी - नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसहित ४ पार्टीले मंगलबारका लागि घोषणा गरेको नेपाल बन्दको प्रभाव सुदूरपश्चिममा पनि देखिएको छ । मंगलबार बिहानैदेखि प्रदेशका सडक र चोकहरुमा सुरक्षाकर्मीको उपस्थिति बाक्लो छ । प्रदेश ट्राफिक कार्यालय अत्तरियाका अनुसार प्रदेशभरीका बस टिकट काउन्टर बन्द अवस्थामा छन ्। यस्तै लामो तथा छोटो दूरीका सवारी साधन नचलेको प्रहरीले बताएको छ । कैलाली र कञ्चनपुरमा अटोरिक्सा तथा मोटरसाइकल भने फ्याट्टफुट्ट चलिरहेका छन् । 
यसैबीच, कैलालीका दुई ठाउँमा शंस्कापद वस्तु फेला परेका छन। गोदावरी नगरपालिका–१ अत्तरियास्थित मोहनापुल–अत्तरिया ६ लेन सडकखण्ड र पूर्वपश्चिम राजमार्ग अन्तरगत हरैया शिविर नजिकै शंकास्पद वस्तु फेला परेको प्रहरीले जनाएको छ ।

विप्लवका ८ नेता कार्यकर्ता सुदूरपश्चिमका विभिन्न जिल्लाबाट पक्राउ

नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाले आज आम हडताल आह्वान गर्दा सुदूरपश्चिमको जनजीवन प्रभावित बनेको छ । बन्द गराउँदै हिनेका विप्लवका ८ नेता कार्यकर्ता सुदूरपश्चिमका विभिन्न जिल्लाबाट पक्राउ परेका छन् । कञ्चनपुरमा बन्द गराउँदै हिँडेका ३ जना नेता पक्राउ परेका छन् ।  मङ्गलवार बिहान बजार बन्द गराउँदै हिँडेका अखिल क्रान्तिकारी केन्द्रीय सदस्य ललित एसके, अखिल क्रान्तिकारीकै जिल्ला संयोजक भरत विक र कोषाध्यक्ष अनिल घरेडीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

नेकपाका कञ्चनपुर जिल्ला सेक्रेटरी प्रकाश मल्लले उनीहरूलाई बिना कारण पक्राउ गरिएको बताएका छन् । बन्दको पूर्वघोषित कार्यक्रम रहेको भन्दै उनले गिरफ्तार गरिएका दुवैको तत्काल रिहाइ गरिनुपर्ने बताए । 

यस्तै डोटीको दिपायलबाट नेकपाका दुई नेता पक्राउ परेका छन् ।  मङ्गलवार बिहान दिपायल बजार बन्द गराउँदै हिँडेका जिल्ला सचिवालय सदस्य मोहन कठायत र प्रकाश कठायतलाई पक्राउ गरिएको हो । उनीहरूलाई बिना कारण पक्राउ गरिएको नेकपाका डोटी जिल्ला सेक्रेटरी विमल धामीले बताए ।  बन्दको पूर्व घोषित कार्यक्रम रहेको भन्दै उनले गिरफ्तार गरिएका दुवैको तत्काल रिहाइ गरिनुपर्ने बताए । यता बाजुरामा पनि ३ जना नेता पक्राउ परेका छन् । बन्दको आह्वान गर्दे हिँडेका ३ नेता सदरमुकाम मार्तडीबाट पक्राउ परेका हुन् । पक्राउ पर्नेमा नेकपाका  जिल्ला सचिव भूपेन्द्र विक,  केन्द्रीय सदस्य मानबहादुर रावत, जिल्ला कमिटी सदस्य सुक नेपाली रहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक गिन्द्रबहादुर बोगटीले बताएका छन् । नेकपाले नेपाल बन्दको घोषणा गरेपछि बाजुराको सुरक्षा व्यवस्थामा कडाइ गरिएको छ । 

सरकारसँग भएको ३ बुँदे सम्झौताअनुसार आफ्नो पार्टीका नेता÷कार्यकर्तामाथि लगाइएका मुद्दा फिर्ता, थुनाबाट मुक्त गर्नुपर्ने, असमान सन्धि सम्झौता खारेज, महँगी भ्रष्टाचार नियन्त्रण लगायत माग अगाडि सार्दै विप्लव नेतृत्वको नेकपाले आज देशव्यापी बन्दको घोषणा गरेको छ ।