बढ्न थाल्यो तीजको चहलपहल
2022/08/26, 3:01
 
ss

धनगढी-  तीज आउन केही दिन बाँकी रहेका बेला धनगढीका बजारमा चहलपहल बढ्दै गएको छ । केही वर्ष पहिले कोरोनाका कारण सुनसान रहेको यहाँका बजारहरूमा यस वर्ष भने चहलपहल बढेको देख्न सकिन्छ ।  नेपाली महिलाले महान चाडको रुपमा लिइँदै आएको तीजमा नयाँ लुगाफाटा देखि गरगहना किन्नेको यति बेला बजारमा भिड लाग्ने गरेको छ । भदौ १४ गते परेको तीजले अहिले बजारमा सुनचाँदी देखि लिएर कपडाको माग समेत बढेको यहाँका व्यापारीहरू बताउँछन् ।

धनगढी उपमहानगरपालिका वडा नं १ मा रहेको प्रतीक्षा बस्त्रालयका सञ्चालक हेमराज जोशीले विगतको वर्ष भन्दा  यस वर्ष व्यापार व्यवसाय  पनि राम्रो भइरहेको बताए । ‘विगतको वर्ष कोरोनाका कारणले व्यापार व्यवसाय ठप्प भएको थियो । तीजको चहलपहल केही थिएन’, उनले भने,‘यस वर्ष विगतको जस्तो कोरोना पनि छैन । तीजको चहलपहल निकै बढदैछ । पोहोर सालभन्दा यस वर्ष व्यापार व्यवसाय पनि  राम्रै भइरहेको छ ।’

तीजमा कपडाका साथसाथै गरगहनाहरूको समेत माग बढेको छ । सुनचाँदी पसलमा पनि ग्राहकहरुको घुँईचो लाग्ने गरेको सुनचाँदी व्यवसायीहरू बताउँछन् । ‘बजारमा सुनको माग बढदैछ । तर सुनचाँदी पसलमा भने सुनको अभाव देखिन थालेको छ’, धनगढी  १ हुलाक लाइनका सुनचाँदी व्यवसायी मेघराज लामिछानेले भने, ‘नेपालले देशमा सुनको पूर्ति गर्न सकिरहेको छैन, जसका कारणले सुनको अभाव भइरहेको छ । हामीले पसलमा आएका ग्राहकलाई अहिले फर्काउनु परेको छ ।  जसले गर्दा ग्राहकमा निराशा छाएको देखिन्छ ।’ 

पछिल्लो समयमा तीजको चहलपहल बढ्दै गर्दा महिलाहरू निकै व्यस्त देखिने गरेका छन् । उनीहरू तीजको तयारीमा जुटी सकेका छन् । धनगढी १ की धना ढुङ्गाना पनि यति बेला तीजको तयारीमा जुटिसकेको बताउँछिन् । ‘तीजको तयारी गरिरहेका छौ, तर कोरोनाको बिगबिगी अझै हटेको छैन । विगतका वर्षहरूमा तीज मनाउन पाएनौ । यस वर्ष सावधानी अपनाएर  तीज मनाउने तयारीमा छौ’, उनले भनिन । उनले वर्षको एक पटक आउने पर्वलाई आफ्नो क्षमता अनुसार मनाउन समेत आग्रह गरिन् ।  

पछिल्लो समय तीजका नाममा विकृति समेत बढ्दै गएको छ । जसका कारण समाजमा नराम्रो असर परिरहेको छ । पहिलेको  र अहिलेको तीजमा धेरै भिन्नता देखिएको धनगढीकै  बेलु वैश्य बताउँछिन् ।  पहिले तीजमा टाढा टाढा बाट माइत  आएका  दिदीबहिनीहरु  भेटघाट गरेर दुःख सुखका कुरा गरेर मनाउने चलन रहे पनि अहिले भने त्यो परम्परा लोप भइरहेको उनले बताइन्। 

‘हाम्रो जमानामा तीजमा सबै महिलाहरू मिलेर मनाउँथ्यौ, पुरुषहरू कोही आउँदैनथे , त्यो वेलामा टाढा टाढा बाट माइत  आएका दिदीबहिनीहरु   भेटघाट गरेर दुःख सुखका कुरा पनि आफै गाएर नाच्थ्यौँ, विरहका गीत गाउथ्यौँ’, उनले भनिन्,‘अहिलेको तीजलाई के तिज भन्ने उत्ताउला गीत बजाउछन् । महिला भन्दा पुरुषहरू बढी नाचगान गर्छन् । जुन संस्कारले तीज मनाउनु पर्थ्यो त्यसको उल्टो भइरहेको छ ।’

सबै महिलाहरूलाई मिलेर आफूसँग जेजस्तो छ त्यस्तैमा रमाएर र तिजमा संस्कृतिको नाममा विकृति नगरेर तीज मनाउन उनले पनि सवैमा आग्रह गरिन्  । यता कैलाली प्रशासनले पनि तीजमा भड्किलो रुपमा नमनाउन आग्रह गरेको छ । प्रशासनले धार्मिक सामाजिक तथा सांस्कृतिक पर्व मनाउने सम्बन्धमा सामाजिक व्यवहार सुधार ऐन  र नियमावली २०३३ ले व्यवस्थित  र नियमित गर्ने उल्लेख गर्दै प्रशासनले यस्तो आग्रह गरेको कार्यालयका  सूचना अधिकारी शिवराज जोशीले बताए ।

यदि उक्त ऐन विपरीत अनावश्यक तामझामका साथ कार्यक्रम गरिएको पाइएमा कानुन बमोजिम कारबाही उनले बताए । ‘हामीले तीजमा तामझामका साथ नपाउन भनेर आग्रह गरिसकेका छौँ । यदि तीजलाई बढी खर्चिलो र भड्किलो गरेको पाइएमा कानुन बमोजिम कारबाही गर्छौ ।’