सुदूरपश्चिममा गौराको रौनक सुरु
2022/08/29, 5:45
 
ss

धनगढी- सुदूरपश्चिममा गौरा पर्वको रौनक सुरु भएको छ। गौरा आउन अझै ३ दिन बाँकी भए पनि सुदूरपश्चिमभर पर्वको रौनक सुरु भइसकेको हो। 

गौरा भित्र्याइने र विसर्जन गरिने गौराघर, मठमन्दिरदेखि आँगनसम्मै चिटिक्क सजाइन थालेका छन्। भोक्कर, नरसिंह, बिगुल, मृदंग र दमाहाजस्ता परम्परागत बाजा बज्न सुरु भइसकेको छ। ग्रामीण मात्र होइन, बजार क्षेत्रमा पनि किनमेल गर्नेको घुइँचोले व्यापारीलाई भ्याइनभ्याइ छ। सनातन सांस्कृतिक परम्पराअनुसार भाद्र कृष्ण पञ्चमीमा गौरा भित्र्याइन्छ। 

सुदूरपश्चिमको प्रमुख सांस्कृतिक पर्वका रूपमा रहेको गौरा मनाउन रोजगारीका लागि विदेश तथा मुलुककै विभिन्न जिल्लामा रहेकाहरू अहिले धमाधम आफ्नो थातथलो फर्किरहेका छन्। प्रदेशकै तराई क्षेत्र कैलाली र कञ्चनपुरबाट पनि पहाडी जिल्ला फर्कनेको लर्को नै लागेको छ।

 विभिन्न स्थानमा गौरालाई महोत्सवकै रूपमा आयोजना गरिँदै छ। पञ्चमीका दिन बिरुडा ९पाँच प्रकारका अन्न० भिजाएर गौरा भित्र्याइ सुरु हुने पर्व धेरैले अष्टमीका दिन विसर्जन गर्छन्। कतिपय स्थानमा सातादेखि १० दिनसम्मै पर्व मनाउने गरिएको छ। बल, तिल, गुभा, धान र साउँका बोटबाट गौरा बनाउने र काठको प्रतिमा स्वरूप शिव स्थापित गरी विसर्जन नहुँदासम्म हरेक दिन पूजा गर्ने परम्परा छ।

बिहान–साँझ पूजा गरिने र दिउँसो गौरा घरमा विभिन्न देवीदेवताका गाथा, लोककाव्य पाठ गर्ने र डेउडा खेल्ने गरिन्छ। पञ्चमीदेखि हरेक दिन यसरी नै गौरा पुजन गरेर परम्परादेखि तोकिएको देवस्थलमा सामूहिक रूपमा अष्टमीका दिन विसर्जन गर्ने परम्परा छ । गौरा भित्र्याउने र विसर्जनको दिन विशेष रूपमा मनाइन्छ।

भित्र्याउँदा कन्याहरूले र बिदाइ गर्दा भने बुहारीहरूले टाउकोमा नचाउँदै धार्मिक गीत गाउँदै स्थानीय मठमन्दिरसम्म लैजाने गर्छन्। मठमन्दिरमा धामी, पुजारीहरूले गौरालाई विधिवत् विसर्जन गर्छन्। यस दिन पनि महिला र पुरुषहरू बेग्लाबेग्लै देवीदेवताका गीत गाथामा डेउडा खेल्ने गर्छन्।