सुदूरपश्चिममा थप चार जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बाजुरामा थप ४ जनामा कोरोना पुष्टि भएको हो । बुढीगंगा नगरपालिकामा थप चार जनामा कोरोना संक्रमण देखिएको हो । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा परिक्षण गर्दा उनीहरुमा कोरोना पुष्टि भएको हो । बाजुरामा यो सँगै एक सय चार जना कोरोना संक्रमित पुगेका छन् । सो नगरपालिकाका ९० जना मध्ये ८६ जनाको रिपोर्ट नेगेटिभ आएको छ । नगरपालिकाले केही दिन पहिला ३ सय ३८ जनाको स्वाब जुम्ला पुर्याएको थियो । बडीमालिका नगरपालिकाको ४० जना, बुढीगंगामा २६ जना, त्रिवेणी नगरपालिकामा ३५ जना, जगन्नाथ एक जना र एक जना स्वामीकार्तिक गाँउपालिकाको रहेका छन् । जसमा ३७ जना महिला र ६१ जना पुरुष रहेको स्वास्थ्य कार्यालय बाजुराका प्रमुख दयाकृष्ण पन्तले बताए ।
सुदूरपश्चिम प्रदेशमा योसँगै कोरोना संक्रमितको सङख्या एक हजार पाँच सय ५३ पुगेको छ । अहिलेसम्म सबैभन्दा बढी कैलालीका पाँच सय आँठ जनामा कोरोना पुष्टि भएको छ । यस्तै डोटीमा दुई सय नौ, डडेल्धुरामा दुई सय पाँच, कञ्चनपुरमा एक सय ९४, बैतडीमा एक सय ६०, अछामका एक सय १२, बाजुराका एक सय दुई, बझाङमा ४४ र दार्चुलामा १२ जनामा कोरोना पुष्टि भएको छ । पुष्टि भएका पाँच जनाको मृत्यु भईसकेको छ भने एक सय ७६ जना निको भएर घर फर्किसकेका छन् ।
यता असार लागेपछि सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको सङख्या ह्वात्तै बढेमा पछिल्लो २४ घण्टामा भने कसैमा पनि संक्रमण देखिएको छैन । धनगढीमा रहेको प्रयोगशालमा २४ घण्टामा भएको परीक्षणमा सबैको रिपोर्ट नेगेटिभ आएको छ । सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले पछिल्लो २४ घण्टामा एक सय ८३ जनाको कोरोना परीक्षण भएकोमा कसैमा पनि संक्रमण पुष्टि नभएको बताए । काठमाडौँमा भएको परीक्षणको रिपोर्ट भने साढे चार बजे सार्वजनिक हुनेछ ।