उच्च अदालत दिपायलका तत्कालीन रजिस्ट्रार कटवालविरुद्ध नै भ्रष्टाचार मुद्दा
2022/09/02, 11:07
 
ss

धनगढी-अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उच्च अदालत दिपायलका तत्कालीन रजिस्ट्रार रणबहादुर कटवाल विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको  छ । कटवालले आर्थिक वर्ष ०७८/७९ मा विनियोजित बजेट अनियमितता गरी खर्च गरेको र स्थायी शिक्षिकाको रुपमा अन्यत्रै कार्यरत श्रीमतीलाई उच्च अदालत दिपायलको कम्प्युटर अपरेटरमा नियुक्ति गरी पारिश्रमिक दिएको, विभिन्न शीर्षकका बजेट नक्‍कली बिल भरपाई गरी ४ लाख ९८ हजार ९९५ रुपैयाँ अनियमितता गरेको ठहरसहित अख्तियारले विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको हो।

टवालले सर्वोच्च अदालतबाट भर्चुअल अनुगमन निरीक्षण भएकोमा दिपायल मुकाममा होटल खर्च भएको स्वीकृती गरी बिल भरपाई बनाई भुक्तानी लिएको, कतिपयमा स्टोरकिपरबाट शोधभर्ना गराई भुक्तानी लिने, व्यवसायीहरुसँग अफिसको हिसाबकिताब मिलाउन हुँदै नभएको खर्चको नक्कली खरिद देखाउने, प्रयोगविहीन गाडीको मर्मत गरेको भनी बिलको भुक्तानी लिने, किर्ते गरी भ्रमण काजको भुक्तानी लिने लगायत कार्य गरेको आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले बताए।    

भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिम कसुर गरेको पुष्टि भएको भन्दै रजिस्ट्रार कटवाललाई ४ लाख ९८ हजार ९९५ बिगो कायम गर्दै कैद सजाय र बिगो बमोजिम जरिवाना गरी बिगो असुलउपर गर्न माग दाबी गरिएको छ ।