प्रदेश सभापतिकै जिल्ला डोटीमा गठबन्धन नगर्ने कांग्रेसको निर्णय
2022/09/02, 11:34
 
ss

डोटी-  नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश सभापति तथा पूर्वमन्त्री बिर बहादुर बलायरको जिल्लामा कांग्रेसले गठबन्धन नगर्ने निर्णय गरेको छ ।  बिहीबार बसेको जिल्ला कार्यसमितिको बैठकले कांग्रेसले कसैसँग पनि तालमेल नगर्ने र एक्लै चुनाव लड्ने निर्णय गरेको जिल्ला सचिव गणेश खड्काले जानकारी दिए ।

‘‘गठबन्धनको कुनै आवश्यकता र औचित्यता छैन’, उनले भने, ‘डोटीमा हामी एक्लै लड्छौं । आज बैठकले उम्मेदवार बन्न आकांक्षीहरु पनि सिफारिस गरेको छ ।’  यहाँ माओवादी र नेकपा एकीकृत समाजवादीले पनि दाबी गरेका छन् । माओवादीबाट मुख्यमन्त्री त्रिलोचन भट्ट र नेकपा एसबाट पूर्वमन्त्री प्रेम आले गठबन्धनबाट सिटको दाबी गरिरहेका छन् ।

डोटीमा गठबन्धनको मापदण्ड अनुसार नेकपा एसका नेता प्रेम आलेले टिकट पाउछन् । तर स्थानीय चुनावमा सबै दल मिलाउँदा पनि कांग्रेस एक्लै भारी रहेकाले कुनै हालतमा आलेका लागि कांग्रेसको सुनिश्चित सीट नछाड्ने अडान नेताहरुको छ ।  यस्तो बेला जिल्ला समितिले तालमेल नगर्ने निर्णय गरेपछि सिट बाँडफाँट पेचिलो हुने देखिएको छ । यहाँ कांग्रेसबाट मात्रै पाँच जनाले दाबी गरेका छन् । पूर्वमन्त्री तथा प्रदेश सभापति वीरबहादुर बलायरसँगै प्रदेशसभा सदस्य भरत बहादुर खड्काले पनि दाबी गरेका छन् ।

त्यस्तै, यज्ञराज पाठक, गोरख विष्ट आनन्द र धिरेन्द्र शाहीले पनि ईच्छा व्यक्त गरेका छन् । प्रदेश सभा क तर्फ नरेन्द्रबहादुर सिंह र जितबहादुर खड्का तथा ‘ख’ तर्फ प्रदीप कुमार देउवा र भूमिराज बडुको दाबी छ ।