धनगढी- सुदूरपश्चिम प्रदेश सभाका सदस्यहरू आफ्नो कार्यकालबाट सन्तुष्ट देखिएका छन् । प्रदेश सभाको अधिवेशन अन्त्य भएको अवसरमा उनीहरूले आफ्नो पदावधि सकिनै लग्दा कानून निर्माणमा सफलता प्राप्त गरेको बताएका छन् ।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले साढे चार वर्षमा जे जति हुन सक्थ्यो, त्यति काम प्रदेश सरकारले गरेको बताए । प्रदेश सभा अधिवेशन समापनको अवसरमा पत्रकारसँग कुराकानी गर्दै उनले प्रदेश सरकारले सङ्घीयताप्रति जनताको आशा, भरोसा र विश्वास बढाउने काम गरेको बताए । उनले पाँच वर्षको अवधिमा सुदूरपश्चिम प्रदेशको समग्र विकासको आधारशिला कायम गरेको जिकिर गरे ।
‘सङ्घीयता नै हाम्रो देशका लागि उपयुक्त व्यवस्था भएकाले केही वर्षमा नआए पनि पछि परिवर्तन पक्कै आउँछ’, उनले भने । ‘सङ्घीयताको मर्म र त्यसले ल्याएको परिवर्तन सहरमा हैन, गाउँमा देखिन्छ ।’ सङ्घीयता आएपछि जादुको छडीजस्तै विकास हुने र सङ्घीयताले सबै चिज सिद्धिन्छ कि भन्ने बुझाइले समस्या सृजना भएको मुख्यमन्त्रीको भनाइ थियो । यसै गरी, संविधानले एकल र साझा अधिकार दिएको उल्लेख गर्दै उनले भने,‘एकल अधिकारको काम त हामीले ग¥यो । कानून बनायौँ । तर, केन्द्रले साझा अधिकारका कानून नबनाउँदा हामीलाई काम गर्न समस्या भएकै हो ।’
यसै गरी, आन्तरिक मामिला तथा कानूनमन्त्री डा. रणबहादुर रावलले प्रदेश सरकारले कानून निर्माणको सवालमा राम्रो काम गरेको बताए । ‘तर, जनताको जनजीविकाको सवालमा प्रत्यक्ष रुपमा जुन काम गर्नु पर्दथ्यो, त्यसमा हामी चुकेका छौँ’, उनले भने,‘अब आगामी दिनमा आउने सरकारले त्यसतर्फ ध्यान दिएर काम गर्नु पर्दछ ।’
यस्तै, प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का संसदीय दलका नेता एवम् पूर्वमन्त्री प्रकाश शाहले पाँच वर्षे कार्यकालमा प्रदेश सरकारले गरेको काम सन्तोषजनक रहेको बताए । उनले बजेट परिचालनको सवालमा सङ्घ र स्थानीय सरकारभन्दा प्रदेश सरकार बढी गतिशील रहेको बताए । ‘प्रदेशकै कारण आज दुरदराजका जनताहरूले विकासको अनुभूति गर्न पाइरहेका छन्’, उनले भने । पूर्वमन्त्री एवम् प्रदेश सभा सदस्य पूर्णा जोशीले प्रदेश सभा सदस्यको रुपमा आफ्नो कार्यकालबाट सन्तुष्ट रहेको बताइन् ।उनले कानून निर्माणदेखि लिएर विकास निर्माणको कतिपय महत्त्वपूर्ण कार्य भएको उल्लेख गरिन ।
यस्तै उनले राजधानी तोक्ने बिषयमा दलको ह्विप उल्लङ्घन गरेको भए पनि हुने थियो भन्ने अनुभव भएको बताइन् । ‘तत्कालिन समयमा प्रदेशसभामा बहुमत रहेको नेपाल कम्युनिस्ट पार्टी नेकपाको सांसद हामी थियौँ हाम्रो दलले ह्विप लगाएर बहुमतका आधारमा प्रदेशको राजधानी र नाम टुगों लगाएको हो,’ जोशीले भनिन्‘ त्यो बेला हामी आबद्ध दलले ह्विप जारी गरेर राजधानी र नाम तोक्दा सोही ह्विप मानेर हामीले गोदावरी राजधानीका पक्षमा मतदान ग¥यौँ तर आज नगरेको भए हुने थियो भन्ने पछुतो भएको छ ।’
एउटा विषय त्यही राजधानीको बिषयमा पछुतो भएको हो, अरू सबै काम राम्रै गरेकोले प्रदेशसभाको कार्यकाल सुखद हरेको उनको भनाई छ । यस्तै जनता समाजवादी पार्टी नेपालकी सांसद मालामती कुमारी थारुले संसदमा बोल्दा आफ्ना मुद्धाहरु कहिल्यै नबिर्सेको र अराजक गर्नेहरूलाई सचेत गराएको दाबी गरिन् ।