सुदूरपश्चिम- “धनगढी सेटकी चेली सटपाइन्ट कसेकी... ।
घरवार भएकी हौ की माइतमै बसेकी... ।।”
अर्थात् : सम्पन्न घरकी धनगढीकी छोरीचेली सर्ट पाइन्टको पहिरनमा देखियौ, विवाह भएकी हौ की माइतमै बसिरहेकी छ्यौ ?
सुदूरपश्चिम प्रदेशको मौलिक पर्व गौरा पर्व मनाउन शनिबार साँझ धनगढीको गौरा घर परिसरमा भेला भएर गोलबन्द भएका महिला, पुरुषबीचको समूहमा दोहोरीको शैलीमा प्रस्तुत देउडा गीतमा सवाल जवाफ भइरहँदा माहोल रोमाञ्चक बन्यो ।गोलबन्द भएर खेलिएको उक्त देउडा खेलमा पुरुषको समूहले आफ्नो परम्परागत पहिरन नलगाएकी महिलालाई लक्षित गरी सर्ट र पाइन्टको पहिरनमा देखिएकोतर्फ व्यङ्ग्य गरेको थियो । उक्त व्यङ्ग्यको महिलाको समूहले देउडाकै भाकामा यसरी जवाफ फर्काइरहेको थियो ।
“घरकी घरिना हैन, उड्ने चरी हुँ...।
कहीँ पोइल दिएको छैन, उड्ने भमरी हुँ ...।।”
अर्थात् : बिहेवारी भएको छैन, एक ठाउँमा स्थिर मन भएको छैन, चरी जस्तै घुमिरहेको छु । देउडा खेलमा एकापसमा घोचपेच र तिखो व्यङ्ग्य गर्दै रमाइरहँदा दर्शकले पनि भरपुर आनन्द लिने अवसर पाएका थिए ।
यो खेलका सहभागीमध्ये आधा सङ्ख्याले पुरुषको समूह र आधा सङ्ख्याले महिलाको समूहलाई देउडा गीतको बोलमा मच्चीमच्ची साथ दिइरहेका थिए । खेलका सहभागीबीच दोहोरीको शैलीमा रोमाञ्चक प्रतिस्पर्धा चलिरहँदा दर्शकको भीड पनि थामिनसक्नु देखिन्थ्यो । वर्षमा एकपटक आफ्नो मौलिक सांस्कृतिक पर्व गौरा मनाउन यतिबेला सुदूरपश्चिम प्रदेशका गाउँबस्ती देउडा, चैत, धमारी जस्ता गीतको रौनकले छपक्क छोपिएका छन् । देउडा, चैतलगायतका गीतका सौखिनलाई घरायसी काम छाडेर भए पनि खेल खेल्न भ्याइनभ्याइ भएको छ ।
“मौलिक र सांस्कृतिक पर्व आउँदा सबै रमाउनु स्वाभाविकै हो”, देउडा खेलका सौखिन हरि जोशीले भने, “कोरोना महामारीले दुई वर्षदेखि धित मर्नेगरी खेल खेल्न नपाएकालाई खेल्न पाउँदा अहिले राहत भएको छ ।”
सामाजिक विकृति, विसङ्गति र कुशासनविरुद्ध देउडाका माध्यमले तिखो व्यङ्ग्य गर्दै सामाजलाई सही बाटोमा डो¥याउन यस्ता गीतले मद्दत पु¥याउने गरेको जानकारहरु बताउँछन् ।यो पर्वमा विशेषगरी देउडाका अतिरिक्त देवीदेवताका गाथा एवं महिमा दर्शाउने गीत गाउने गरिएको स्थानीयवासी पद्मराज पाण्डेय बताउँछन् ।
चैत, धमारी, फागलगायतका खेलले इष्टदेव, कूल देवको महिमा दर्शाउने र देउडाका गीतले समाजका विकृति, विसङ्गतिविरुद्ध तिखो व्यङ्ग्य गर्ने, आफ्नो गाउँठाउँका प्राकृतिक र धार्मिकस्थलको महत्वलाई पनि उजागर गर्ने गरेको उनको भनाई छ ।महिलाको समूहमा मात्र खेलिने प्रस्तुत देउडा गीतमा एकअर्काका दुःखसुखको स्मरणका साथै माया प्रेम बाँड्ने गरिन्छ ।
‘सानी डाली घँघारुकी मसुरदानी, ठुम्के चरो बास...।’
‘म आए बाबाका घर मसुरदानी,नथियाकी आश...।’
अर्थात् : घँघारुको बोटमा सानो चराको बास, नाकमा पहिरिने नथुको आशमा बुबाको घर म आएँ शनिबार गौरा घरमा भेला भएका महिला अर्को समूहमा प्रस्तुत गीत गाइरहेका थिए ।ठाडी भाकाको यो देउडा गीतले विवाहिता छोरीले माइतीप्रति गर्ने गरेको माया, आशा एवं अपेक्षालाई दर्शाउने गरेको जानकार दुर्गा ओझा बताउँछन् । यो ठाडो भाखाको गीत महिलामाझ सदियौँदेखि निकै लोकप्रिय छ ।
सुदूरपश्चिममा गौरा पर्वलाई विशेष महत्वका साथ लिइन्छ । सप्तमीका दिन बर्तालु हिन्दू महिला सामूहिकरूपमा नजिकैको खेतमा गएर बोट बिरुवाबाट तयार पार्ने गौराको प्रतिमालाई धार्मिक अनुष्ठान, माङ्गल गीत र फाग गाउँदै गौरा घरसम्म भित्र्याउने गर्दछन् । गौरा र महेश्वर (शिव) को पूजाआजाको काम सकेपछि खेल खेल्ने गरिन्छ ।यसअघि भाद्र पञ्चमी तिथिका दिन घरघरमा तामा वा पित्तलको भाँडोमा पाँच थरीका गेडागुडी अर्थात् ‘बिरुडा’ भिजाएर राखिन्छ । यो दिनदेखि नै यो पर्व औपचारिकरूपमा सुरु भएको मानिन्छ ।
गौरादेवीको पूजाआजा गर्दा विवाहिता महिलाले आफ्नो पतिको दीर्घायुका साथै घरमा सुखशान्ति हुन्छ भन्ने विश्वास गरिन्छ । यसै पर्वदेखि विवाहिता हिन्दू महिलाले अर्को वर्षको गौरा पर्व नआउँदासम्म धागोबाट बनाइने ‘दुबो धागो’ आ आफ्नो घाँटीमा लगाउने प्रचलन पनि छ । पौराणिककालमा हिमालयकी सुपुत्री पार्वतीले भगवान् शिवलाई पतिका रूपमा पाउन गर्नुभएको कठोर व्रतको फलस्वरूप पार्वतीको मनोकाङ्क्षा पूरा भएकाले सोही विश्वासमा गौरा पर्व मनाउने गरिएको उनको भनाइ छ ।
पौराणिककालमा भृगुवंशी एक ब्राह्मणीले आफ्नो सतित्व रक्षाका लागि निराहार बसी गरेको शिव र पार्वती (गौरा) को पूजाको फलस्वरूप ब्राह्मणीले तेजिलो पुत्र लाभ गरेकीले गौरालाई सर्वशक्तिमान भएको विश्वासमा गौरा पर्व मनाउन थालिएको देवी भागवत पुराणमा उल्लेख गरिएको ज्योतिष मनिराज जोशी बताउँछन् । देवीदेवताका गाथा एवं महिमा गाउने पछिल्ला वर्षमा कम हुँदै गएको अवस्थामा यसको विकल्पमा देउडाको वचश्र्व देखिन थालेको जोशी बताउँछन् ।