चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ को हालसम्मको ग्रसकलेक्सन कति ?
2024/11/28, 12:41
 
sarangi

चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’ले देशभर राम्रो व्यापार गरिरहेको छ । हालसम्म चलचित्रले ७० करोडभन्दा माथि ग्रसकलेक्सन गरेको हो । 

आजबाट ‘पूर्ण बहादुरको सारङ्गी’ पाँचौँ हप्तामा प्रवेश गरेको छ । निर्माण पक्षका अनुसार नेपालबाट ‘पूर्ण बहादुरको सारङ्गी’ले ४७ करोड रुपैयाँ ग्रसकलेक्सन गरेको छ । जापानमा १८ लाख कलेक्सन गरेको ‘पूर्ण बहादुरको सारङ्गी’ले अमेरिका र क्यानडामा साढे ९ करोडभन्दा माथि कलेक्सन गरेको छ । अस्ट्रेलियामा ९ करोड कलेक्सन गरेको छ । मिडल इस्टमा ५ करोड रुपैयाँ कलेक्सन गरेको छ । ओभरसिजमा भने यो चलचित्र करिब एक हप्तापछि रिलिज भएको थियो ।

हालसम्मको यो कलेक्सन हेर्दा ‘पूर्ण बहादुरको सारङ्गी’ले अझै ठुलो परिमाणमा कलेक्सन गर्ने देखिन्छ । बिदाका दिन अधिकांश शो हाउसफूल भइरहेको छ । यसले ‘पूर्ण बहादुरको सारङ्गी’ सय करोड क्लबको यात्रामा रहेको देखिन्छ । तर, प्रदर्शनको पाँचौँ हप्तामा रहेकाले अब ३० करोड कलेक्सन गर्न भने सहज छैन । तर, हलमा दर्शकको चाप र वर्ड अफ माउथ (मौखिक प्रचार) राम्रो भएकाले चलचित्रले आगामी दिनमा पनि राम्रो कलेक्सन गर्ने अपेक्षा गरिएको छ । सय करोड क्लबमा प्रवेश गर्ने यात्रामा रहेको यो चलचित्रलाई अब ३० करोड थप कलेक्सन गर्न सहज नभए पनि यो सम्भावनालाई नकार्न सकिने अवस्था छैन ।

सरोज पौडेलले निर्देशन गरेको चलचित्रमा विजय बराल मुख्य भूमिकामा छन् । प्रकाश सपूत, मुकुन भुसाल, अञ्जना बराइलीलगायत कलाकार चलचित्रको मुख्य भूमिकामा छन् । चलचित्रमा संवाद महेश दवाडीले लेखेका छन् । सेभेन सिस सिनेमा र बासुरी फिल्मसको प्रस्तुति रहेको सिनेमाका निर्माता विनोद पौडेल र प्याट्रिक सुवेदी हुन् ।

‘पूर्ण बहादुरको सारङ्गी’ एक करोड ३० लाखमा निर्माण भएको चलचित्र हो । यो चलचित्रले ठुलो नाफा कमाउने निश्चित भएको छ। नेपाली चलचित्र क्षेत्रमा नयाँ सफलता र मापदण्ड स्थापित गर्दै ‘पूर्ण बहादुरको सारङ्गी’ ऐतिहासिक यात्रामा रहेको छ ।