दार्चुलामा बाढीपहिरो : १० जना बेपत्ता, ८ घाइते [अपडेट]
2022/09/10, 7:08
 
ss

धनगढी- दार्चुलामा शुक्रबार रातिबाट परेको अविरल वर्षाले ठूलो जनधनको क्षति गरेको छ। जिल्ला प्रशासन कार्यालय दार्चुलाका अनुसार अहिलेसम्म ५ जनाको शव फेला परेको छ। ३ जना महिला र २ पुरुष गरी ५ जनाको शव फेला परेको बताइएको छ। 

प्रहरीले नौगाड गाउँपालिका–२ की अन्दाजी ३२ वर्षीया जानकी ठगुन्ना, १५ वर्षीया धनुली ठगुन्ना र ६८ वर्षीय मोहनराम पार्कीको शव फेला परेको जनाएको थियो। भने महाकाली नगरपालिका–२ का ७७ वर्षीय नन्दराम बोहरा र वडा नम्बर १ सल्लाकी ४३ वर्षीया मानमती कार्कीको मृत्यु भएको बताएको थियो। 

जिल्ला प्रहरी कार्यालयका अनुसार बाढीपहिरोमा परेर अहिलेसम्म १० जना बेपत्ता भएका छन् भने ८ जना घाइते भएका छन्। ३ महिला र ५ पुरुष गरी ८ जना घाइते भएका हुन्। त्यसैगरी ४ महिला र ६ पुरुष गरी १० जना बेपत्ता भएका छन्।

प्रहरीले ४२ घरमा पूर्ण क्षति, ९ घरमा आंशिक क्षति र ४० घर जोखिममा रहेको जनाएको छ। जसमा महाकाली नगरपालिकाका ६२ घर र नौगाड गाउँपालिकाका २९ घर रहेका छन्। त्यसैगरी बाढीले एक विद्यालय पूर्ण क्षति, एकमा आंशिक क्षति र एक जोखिममा रहेको र  एक विद्युत पावर हाउसमा पूर्ण क्षति पुर्याएको छ। त्यस्तै २ ओटा झोलुङ्गे पुल र १ मोटरेवल पुलमा क्षति पुगेको छ। सवारी साधनतर्फ ६ जिप, कार, ट्याक्टर, जेसीबि १/१ गरी जम्मा ९ वेपत्ता भएका प्रहरीले बताएको छ।

प्रहरीले घाइतेहरुको उद्धार गरेर जिल्ला अस्पताल दार्चुलामा पुगाएको छ। बाढीपहिरोमा घाइते भएकाहरुलाई हेलिकोप्टरमार्फत उद्धार गरिएको हो। उद्धार र खोजी कार्य जारी रहेको प्रहरीले बताएको छ। घटनास्थलमा उद्धार कार्यका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली खटिएको छ।