कैलालीका ३ सय ४५ अव्यवस्थित बसोबासीलाई लालपुर्जा वितरण गरिने
2022/09/14, 10:24
 
dd

कैलालीको गोदावरी नगरपालिकाका ३ सय ४५ जना अव्यवस्थित बसोबासिले लालपुर्जा पाउने प्रक्रिया अन्तिम चरणमा पुगेको छ । राष्ट्रिय भूमि आयोग मार्फत नगरपालिकाले उनीहरुको जग्गा नापी गरेर अन्य प्रक्रिया पुरा गरिसकेको छ । ३ सय ४५ कित्ता जग्गाको नापी गरेर दस्तुर समेत तोक्ने काम सकिएको छ । जसमा गोदावरी नगरपालिका वडा नम्बर १ का २ सय २३ र वडा नम्बर ५ का १ सय २२ कित्ता रहेका छन ।

राष्ट्रिय भूमि आयोग कैलालीले दस्तुर तोकेपछि भदौ ११ गते १५ दिने सूचना निकालेर दस्तुर माथि चित्त नबुझेमा निवेदन दिन आग्रह गरेको थियो । सो समय समेत सकिएकाले अब अन्तिम पटक थप १५ दिने सूचना निकालेर लालपुर्जा वितरण सुरु गरिने राष्ट्रिय भूमि आयोग कैलालीका अध्यक्ष यज्ञराज उपाध्यायले बताए । यसअघि दस्तुर माथि चित्त बुझे नबुझेको बारेमा निकालिएको सूचनामा दस्तुर बढी भएको गुनासो मौखिक रुपमा आएपनि लिखित रुपमा भने ५ र६ जनाको मात्रै निवेदन आएको नगरपालिकाका अमिन रधुनाथ जोखिले बताए ।

हाल गोदावरीमा जग्गा नापी भएका क्षेत्रका बासिन्दालाई लालपुर्जा दिने काम दिने प्रक्रिया अगाडी बढेकाले थप नापिको काम भने रोकिएको छ । हालसम्म नगरपालिकामा गोदावरी नगरपालिका वडा नम्बर १ का चैतन्यपुर, बिजौरा, बरपिपल टोल, पृथ्वीनगर, श्रीजनसिल टोल, डाँडा टोल, आरती टोल, वडा नम्बर २ को महरा कटान र वडा नम्बर ५ पुरैमा नापीको काम सकिएको छ । नगरपालिकामा हाल नापीका लागि ९ जना सर्बेक्षक र ९ जना अमिन परिचालन गरिएको छ । हाल नगरपालिकामा १२ जना लगत प्रविष्ठकर्ताले लगत संकलन गरिएका फारम इन्ट्रि गर्ने काम गरिहेका छन ।