धनगढी- कैलाली प्रहरीले धनगढी उपमहानगरपालिका–१८ फूलबारीका ३२ वर्षीय हिरा बिकको घरबाट बरामद गरेको स्रोत नखुलेको ८ लाख भारतीय रुपैयाँ चोरीको भएको खुलेको छ । रकमसहित पक्राउ परेका बिकले भारतको मुम्बईस्थित आफूले काम गर्दै आएको साहुको घरबाट उक्त पैँसा चोरी गरेर ल्याएका स्वीकार गरेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक ९डीएसपी० वेदप्रकाश जोशीले विगत लामो समयदेखि आफूले काम गर्ने साहुले ज्याला नदिएपछि पैँसा चोरेर घर फर्किएको बयान दिएको जानकारी दिए । उनकाअनुसार बिकले प्रारम्भीक बयानका क्रममा कलिलो उमेरदेखि ती साहुको घरमा काम गर्दै आएको तर मासिक रुपमा पाइने पारीश्रमिक नदिने गरेको बताएका छन् ।
पैँसा नै नदिएको झोकमा साहुले पैँसा राखेको ठाउँबाट रकम चोरेर भागेको उनको भनाई छ । बिकले चोरी गरेको रकमको स्रोत खुलाएपछि जिल्ला प्रहरी कार्यालयले उनीविरुद्ध अभद्र व्यवहार सम्बन्धी कसुरमा मुद्दा चलाउँदै उक्त पैँसा सम्बन्धीत व्यक्तिलाई फिर्ता गर्ने तयारी गरेको छ ।
नेपालस्थित भारतीय दुतावासमार्फत चोरीको रकम सम्बन्धीत व्यक्तिलाई फिर्ता गरिने प्रहरी नायब उपरीक्षक जोशीले बताए । प्रहरीले विशेष सूचनाका आधारमा फुलबारीस्थित बिकको घरमा छापा हानेर मंगलबार चोरीको रकम बरामद गरेको थियो भने उनलाई बेहडाबाबा क्षेत्रबाट पक्राउ गरेको थियो ।