सामुदायिक वनद्वारा एम्बुलेन्स सञ्चालन
2020/06/25, 11:36
 
sima

कैलालीको टीकापुर–७ स्थित सत्ती कर्णाली सामुदायिक वनले एम्बुलेन्स सेवा सञ्चालन गरेको छ। टीकापुर नगरपालिका–७ को  ६ लाख र सामुदायिक वनको  चार लाख गरी कूल  १० लाखको लागतमा एम्बुलेन्स खरिद गरेर सञ्चालन गरेको हो। ‘‘यहाँका नागरिकलाई आपतकालीन अवस्थामा उपचार सेवा लिन कठिन भयो’’, सामुदायिक वनका अध्यक्ष धनसिंह साउँदले भने, ‘‘आवश्यक परेका वेला १३ किलोमिटर टाढा टीकापुर र २८ किलोमिटर टाढा लम्कीबाट एम्बुलेन्स मगाउनुपर्ने बाध्यता थियो। त्यो बाध्यता हटोस भनी एम्बुलेन्स खरिद गरेर सञ्चालन ग¥यौँ।’’

टीकापुर–७ का वडाध्यक्ष रामलाल डगौरा थारुले यहाँका नागरिकको समस्या र वनको प्रस्तावपछि एम्बुलेन्स खरिदका लागि बजेटको व्यवस्था गरेको बताए। ‘‘नागरिकको माग एम्बुलेन्स थियो, वडामा धेरै माग आयो’’, उनले भने, ‘‘सामुदायिक वनले साझेदारीमा किनौँ भनेपछि हामीलाई पनि सहज भयो।’’

एम्बुलेन्स सञ्चालन तथा व्यवस्थापनको काम सामुदायिक वनले गर्ने वडाले जनाएको छ। सत्ती वनले योसँगै अन्य सामाजिक क्षेत्रमा सामुदायिक वनको आम्दानी खर्च गर्ने गरेको छ। वनले बेतखेतीबाट वर्षेनी ५० लाखसम्म आम्दानी लिने गरेको छ। सामुदायिक वनले उपभोक्ताको आयआर्जनका क्षेत्रमा समेत लगानी गर्ने गरेको छ।

‘‘सामुदायिक वनले सहकारी स्थापना, विद्यालय, क्याम्पस सञ्चालन, कृषिमा लगानी, तथा सीपमूलक तालीमसमेत दिने गरेको छ’’, उपभोक्ता मानबहादुर ठकुल्लाले भने, ‘‘यसबाट स्थानीय उपभोक्ता धेरै स्वरोजगार भएका छन्। धेरैले वनको सहयोगमा बाख्रा पालन, किराना पसल, बेतबासका फर्निचर उद्योग स्थापना गरेका छन्।’’