कैलालीमा बाढीको कहरः झण्डै १५ सय घर डुबानमा, ६ हजार मानिस प्रभावित
2022/09/17, 7:55
 
ss

धनगढी-  शुक्रबार रातिदेखि परेको अविरल वर्षापछि आएको बाढीले कैलालीमा झण्डै १५ सय घर डुबानमा परेको प्रारम्भीक विवरण प्राप्त भएको छ । प्रहरीकाअनुसार पूर्वी कैलालीमा पर्ने भजनी, लम्कीचुहा, नगरपालिका तथा जोशीपुर र जानकी गाउँपालिका सबैभन्दा बढि प्रभावित भएका छन् ।

कैलारी गाउँपालिका, चुरे गाउँपालिका र धनगढी उपमहानगरपालिकाका केही वडामा समेत बाढी बस्तीमा पस्दा केही घरपरिवार प्रभावित भएका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक डीएसपी वेदप्रकाश जोशीले बाढीले सबैभन्दा बढि भजनी नगरपालिकामा सात सय घर डुबानमा परेको जानकारी दिए । उनकाअनुसार भजनी नगरपालिका–१, ३, ५, ७, ८ र ९ मा बाढी बस्तीमा पसेपछि ती घरहरु डुबानमा परेका हुन् ।

जोशीपुर गाउँपालिका–३ र ४ मा पनि करीब तीन सय घर डुबानमा परेका छन् भने जानकी गाउँपालिका ४ र ७  मा ८  घर, कैलारी गाउँपालिका ३, ५, ७ र ८  मा ११० घर, लम्कीचुहा नगरपालिका–९ मा १२ घर र धनगढी उपमहानगरपालिका १३ को श्रीलंका टोलका १४ घर डुबानमा परेको विवरण प्राप्त भएको डीएसपी जोशीले जानकारी दिए ।

बाढीले प्रभावित भएका यी स्थानीय तहमा पूर्ण तथा आशिंक गरेर करीब ६ हजार मानिस विस्थापित भएको अनुमान गरिएको जोशीले बताए । बाढीले सबैभन्दा बढि प्रभावित भएको भजनी नगरपालिकामा विस्थापित भएका मानिसहरुलाई स्थानीय विद्यालयहरुमा व्यवस्थापन गरिएको छ भने जानकी गाउँपालिकाका विस्थापितहरुलाई सामुदायिक भवनहरुमा राखिएको छ ।

कतिपयले बाढिले घर डुबान भइसक्दा समेत छाड्न नमानेको प्रहरीको भनाई छ । प्रहरीकाअनुसार अहिलेसम्म बाढीले धनगढी उपमहानगरपालिका–१३ मा स्थानीय नालामा माछा मार्न गएकी १९ वर्षीय नविना चौधरीको बगेर मृत्यु भएको छ । 

चुरे गाउँपालिकामा पहिरोले घर भत्किदा ८ वर्षीय बालक घाइते भएका छन् भने टीकापुर नगरपालिका–२ को विजयपुरमा २२ वर्षीय शिसिर चौधरी पनि घाइते भएका छन् । उनीहरुको उपचार जारी छ । यसबाहेक जिल्लामा अरु मानवीय क्षति नभएको प्रहरीले जनाएको छ ।