धनगढी-कैलालीका बाढी प्रभावितहरु घर छाडेर सुरक्षित स्थानमा विस्थापित भएका छन् । शनिबार आएको बाढीले घर डुबानमा परेपछि उनीहरु सुरक्षित स्थानमा विस्थापित भएका हुन ।
घर डुबानमा परेपछि शनिबारदेखि सडक, विद्यालय, सुरक्षित भवन लगायतका ठाउँमा विस्थापित भएकाहरु भोकभोकै रहेका छन् ।हुलाकी सडकमा बसेकाहरूको बिचल्ली छ । सडकमा बस्नेहरू एकसरो लुगामा रहेका स्थानीय रुपा चौधरीले बताइन् ।
‘बाढी बस्तीमा पसेपछि ज्यान जोगाउन भन्दै सात जनाको परिवार भाग्यौं’, उनले भनिन् , ‘ज्यान बाँचे खाइएला, हामी सबै भोकै छौं, अब सम्पत्ति बगेको हिसाब छैन ।’बाढीले डुबान गरेपछि स्थानीयवासी पशुचौपाया, बङ्गुर, बाख्रा लिएर हुलाकी राजमार्गमा पुगेका छन् । उनीहरु त्रिपाल टाङ्गेर दुई दिनदेखि सडकमै बसिरहेका छन् । शनिबार आएको बाढीले के कति नोक्सान ग¥यो, त्यसको यकिन विवरण अझै आई पुगेको छैन । तर, बाढीले घरमा रहेको अन्नबाली, खेतमा भएको धान, पोखरीको माछा लगायत ठूलो नोक्सान गरेको सोनाफाँटाकै जयप्रकाश ढुङ्गानाले बताए ।
शनिबार आएको बाढीका कारण छ हजारभन्दा बढी परिवार विस्थापित भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । यद्यपि, विस्थापितको यकिन तथ्याङ्क अझै आइ पुगेको छैन । प्रहरी तथ्याङ्कले करिब एक हजार परिवार विस्थापित भएको देखाए पनि स्थानीय तहबाट फरक÷फरक किसिमको तथ्याङ्क आइरहेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले बताए ।
मोटामोटी रुपमा आएको तथ्याङ्क अनुसार भजनी नगरपालिकाका करिब पाँच÷छ हजार, टीकापुर नगरपालिकाका ८०/९० परिवार, जानकी गाउँपालिकाका ७०/८० परिवार विस्थापित भएको बताउनुभयो । यसैगरी, चार सय परिवार डुबानमा परेको जोशीपुर गाउँपालिका र झण्डै दुई सय घर डुबेको कैलारी गाउँपालिकाको विस्थापितको तथ्याङ्क जिल्ला प्रशासन कार्यालयसम्म आइपुगेको छैन । तर, जोशीपुर गाउँपालिकाले जोशीपुरका करिब डेढ सय परिवार विस्थापित भएको जनाएको छ ।
घरबाट पानी ननिस्किएकाले विस्थापितहरु सहज रुपमा घरमा फर्कन सक्ने वातावरण अझै नरहेको जोशीले बताए । विस्थापितहरुको यकिन तथ्याङ्क नभएका कारणले राहत वितरण गर्न समस्या भएको जनाइएको छ । ‘तथ्याङ्क यकिन नभएका कारणले राहत वितरण गर्न सकिएको छैन’, जोशीले भने । उनले एकद्वार प्रणालीमार्फत राहत वितरण गर्ने जनाए । यसैगरी, क्षतिको पूर्ण विवरण आउन पनि केही दिन लाग्ने जोशीले बताए ।बाढी प्रभावत भने राहतको पर्खाइमा बसेका छन् । दुई दिनदेखि भोकभोकै बसेकाले उनीहरु राहतको पर्खाइमा रहेको जनाइएको छ । भजनी नगरपालिकाको १, ३, ५, ७ र ८ वडा बढी प्रभावित भएको छ । यस्तै, जानकी गाउँपालिकाको ४ र ७, कैलारी गाउँपालिकाको १, २, ५, ७ र ८, टीकापुर नगरपालिकाको ३ र ८ वडा बढी प्रभावित भएको जनाएको छ ।
स्थानीय तहका जनप्रतिनिधिको समन्वयमा बाढी प्रभावितहरुको नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, रेडक्रसकर्मीले उद्धार गर्ने कार्य गरिरहेको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ । शनिबार मोहना, पथरैया, काढा, कान्द्रा, कटैनी, कर्णाली लगायतका नदीनालाहरुमा आएको बाढीले डुबान भएको हो ।
घरछाप्रोमा बसेर ज्यान जोगाए
भजनी डुबानका कारण घरमै फँसेकाहरु डुबान भएको दोस्रो दिन पनि आइतबार उद्धार गरिएको छ । घरको छाप्रोमा बसेका मान्छेहरुको उद्धार गरिएको भजनी नगरपालिकाका प्रवक्ता एवम् वडा नम्बर ३ का अध्यक्ष विक्रम चौधरीले जानकारी दिए ।
५८ हजार जनसङ्ख्या रहेको भजनी नगरपालिकामा ३५/४० हजार घरपरिवार प्रभावित भएका छन् । पाँच हजारभन्दा बढी परिवार विस्थापित भएर सडकमा आइसकेको र धेरैको अझै उद्धार नै हुन नसकेको प्रवक्ता चौधरीले बताए । ‘अझै पनि धेरै मान्छे घरको छाप्रोमा बसेका छन् । डुङ्गा बिना उनीहरुको घरसम्म पुग्न सक्ने स्थिति छैन । उनीहरुको उद्धारै भएको छैन’, उनले भने,‘प्रदेश सरकार र जिल्ला प्रशासन कार्यालयलाई हामीले हेलिकोप्टरमार्फत उद्धारका लागि गुहा¥यौं । तर, सुनुवाई भएन ।’
उनले आइतबार वडा नम्बर ३ का लगभग सबै प्रभावितहरुलाई सुरक्षित स्थानमा ल्याएको बताए । चौधरीका अनुसार वडा नम्बर ८ का सबै प्रभावितको भने अझै उद्धार भएको छैन । उद्धार कार्य जारी रहेको छ । उद्धारको पर्खाइमा रहेकाहरु शनिबारदेखि घरको छाप्रोमा बसिरहेका छन् । उद्धार गरेर सुरक्षित स्थानमा ल्याइएकाहरुलाई पानी र चाउचाउ वितरण गरिएको छ । विद्यालयमा बसेका प्रभावितहरुका लागि भने मेस चलाइएको प्रवक्ता चौधरीले जानकारी दिए ।
गाउँ बग्यो
भजनी नगरपालिका–१ मा रहेको ठेङ्गरपुर गाउँ भग्नावशेषमा परिणत भएको छ । सय घरधुरी रहेको सो गाउँलाई कान्द्रा नदीको बाढीले भग्नावशेषमा परिणत गरेको नगरपालिकाका प्रवक्ता चौधरीले बताए । ‘४०/४५ घरको त केही पनि बाँकी रहेन’, उनले भने,‘सबै बाढीले लग्यो ।’
शव फेला
कैलालीमा शनिबार बाढीले बगाउँदा बेपत्ता भएका भजनी नगरपालिका–८ गोरचौराका ५५ वर्षीय कालुराम चौधरीको शव फेला परेको छ । गैरी नालाले बगाएर बेपत्ता भएको चौधरीको शव घटनास्थलभन्दा ३०० मिटर दक्षिण खेतमा आइतबार फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
वडा नम्बर ८ का वडा अध्यक्ष पङ्कज चौधरीले मानिस बेपत्ता भएको जानकारी गराएपछि स्टिमर डुङ्गामा खटेको सुरक्षाकर्मीको टोलीले शव फेला पारेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिए ।
कैलालीमा शनिबार माछा मार्ने क्रममा झलारी खोलामा बगेर धनगढी उपमहानगरपालिका–१३ झलारीकी २० वर्षीया नवीना चौधरीको ज्यान गएको थियो ।