धनगढी - कैलालीको गौरीगंगा नगरपालिकाको नव निर्मित भवन नगरपालिकाले भिओ गर्न नसक्दा हस्तान्तरणमा ढिलाइ भएको छ । २ वर्ष अघिदेखी निर्माण सुरु भएको नगरपालिकाको नयाँ भवन निर्माणको काम सकिएपनि भिओ नहुँदा हस्तान्तरण हुन सकेको छैन् । सम्झौता अनुसार नगरपालिकाको भवन निर्माण कार्य २०७८ पुषमै सकिनुपर्ने भएपनि ठेकेदार कम्पनीले ढिला गरी भवन निर्माण सम्पन्न गरेको हो ।
भवनको निर्माणको कार्य सकिएपनि नगरपालिकालाई हस्तान्तरण भने नभएको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत हरिदत्त भट्टले बताए । उनले भवन निर्माणको कार्य सकिएपनि प्राविधिक कारणले हस्तान्तरण हुन नसकेको बताए । ‘नगरपालिकाको भवन निर्माण को काम लगभग सकिएको अवस्था छ, केही सानो तिनो होला’ उनले भने ‘तर ठेकेदार कम्पनीले हामीलाई हस्तान्तरण भने गर्नुभएको छैन ।’ उनले ठेकेदार कम्पनीलाई यही मंसिर मसान्त भित्र भवन हस्तान्तरण गर्ने गरी म्याद दिईएको बताए ।
नगपालिकाका साईट ईन्चार्ज प्रदिप धामीले प्राविधिक गडबडीका कारण भवन हस्तान्तरणमा ढिलाई भएको बताए । उनले सम्झौता अनुसारको समयावधीमा काम सम्पन्न नहुँदा नगरपालिकाले समयावधी थप गरेको बताए । ‘पहिलो पटकको म्याद २०७८ पुषमा सकिएको थियो, सो समयावधीमा काम सम्पन्न हुन सकेन’ उनले भने ‘त्यसैले नगरपालिकाले फेरी म्याद थप गरेर यो आउने मंसिर मसान्त सम्मको समय तोकिएको छ, अब केही सामान्य कार्यहरु मात्रै बाँकी छन, सायद केही दिन भित्र नै काम सकिन्छ होला ।’
निर्माण कम्पनिका ठेकेदार सुरेन्द्रकान्त पन्तका अनुसार कम्पनीका तर्फबाट लगभग पुरै काम सकिईसकेको छ । केही छिटपुट बाहेक भवन निर्माणको सम्पुर्ण काम सम्पन्न भैसकेको निर्माण कम्पनिका ठेकेदार सुरेन्द्रकान्तको भनाइ छ । पन्तले भने ेहाम्रो तर्फबाट भवन निर्माणको काम १०० प्रतिशत नै सकिईसकेको छ । केही छिटपुट होला’ ‘भवनको मेन ढोका र सामान्य सरसफाईको कार्य बाँकी छ, त्यो नगरपालिकाको अर्को ठेक्काका कारण रोकिएको छ ।’
पन्तले यसअघिको अवधी पनि भिओ नहुदा नै थप गर्नुपरेको बताए । उनले बाँकी रहेको काम पनि नगरपालिकाको अर्को ठेक्काका कारण ढिलाई भैरहेको बताए । ‘हाम्रो काम नगरपालिकाको नयाँ भवन निर्माणको थियो सो भैसक्यो, तर मेन ढोकाका लागी कारपोर्टस् निर्माणको कार्यले ढिलाई गरिरहेको छ’ उनले भने ‘कारपोर्टस् निर्माणका लागी नगरपालिकाले अर्कैलाई ठेक्का दिएको छ । त्यो बनाउँदा फेरी मेन ढोकालाई समस्या गर्छ भनेर हामीले त्यो काम गरेका छैनौ ।’ उनले नगरपालिकाले भिओ गरेपश्चात नै नयाँ भवन नगरपालिकालाई हस्तान्तरण गरिने बताए ।
नगरपालिकाले २०७७ साल जेठ २५ गते धनगढीको शनीदेव उच्चकोटी जेभिसँग २०७८ पुष १० गते सम्पन्न गरिसक्ने गरी ५ करोड १२ लाख २ हजार ३ सय १५ रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो । तोकिएको समयावधिमा काम सम्पन्न हुन नसकेपछि नगरपालिकाले २०७९ मंसिर मसान्त सम्म भवन निर्माण सक्ने भन्दै म्याद थप गरेको छ ।