‘बुवाले घाँटी थिचेर आमालाई मारेपछि म माथि धारिलो हतियार प्रहार गर्नुभयो’
2022/09/23, 11:20
 
ss

धनगढी- बुधबार राति करीब १० बजेतिर कैलालीको गौरिगंगा नगारपालिका–५ का शेरबहादुर नाम्जाली मगर भारतबाट घर पुगे । साँझको खाना खाएर नाम्जाली मगर श्रीमती ललितासँगै सुतेका थिए तर राति एक्कासी उनीहरुबीच वादविवाद भयो ।

श्रीमानश्रीमतीबीच वादविवाद भएको थाहा पाएपछि १७ वर्षीय छोरी लक्ष्मी र उनका दुई भाईबहिनीको निन्द्रा पनि खुल्यो । लक्ष्मी के भएको हो रु भनेर हतार हतारमा आमाबुवा भएको कोठामा पुगिन् । त्यो बेला शेरबहादुरले डोरीले ललिताको घाँटी थिचिरहेको देखिन ।

उनीसहित अन्य दुई जना भाईबिहनीले रोइकराई गर्दा समेत रिसले उत्कर्समा पुगेका शेरबहादुरले उनीहरुकी आमा ललिताको घाँटी थिच्न छाडेनन् र हत्या गरि छाडे । श्रीमतीको हत्या गरिसकेपछि उनले छोरी लक्ष्मीमाथि आक्रमण गरे । शेरबहादुरले कोठामा रहेको धारिलो हतियार लक्ष्मीमाथि प्रहार गरेर हत्या प्रयास गरे तर उनी दुई जना भाईबहिनीसहित भागेर ज्यान बचाउन सफल भइन् ।

बुवाको हतियार प्रहारबाट घाइते भएकी लक्ष्मीको घाँटीमा चोट लागेको छ । उनको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । उनी अहिले बोल्न सक्ने अवस्थामा छैनन । उनको कुरुवा बसिरहेकी दिदी नाता पर्ने पार्वतीका भनाइमा धारिलो हतियार प्रहार भइसकेपछि भागेर लक्ष्मीले छिमेकीलाई घटनाबारे जानकारी गराएकी थिइन् ।

‘बुवाले डोरीले आमाको घाँटी थिचेर हत्या गरेको मैले देखेपछि मलाई मार्न घाँटीमा धारिलो हतियार प्रहार गर्नुभयो तर भाईबहिनी र म भागेर छिमेकीलाई घटनाबारे बताएका हौँ,’ लक्ष्मीको भनाई उदृत गर्दै पार्वतीले भनिन् । शेरबहादुरले लक्ष्मीमाथि प्रहार गरेको धारिलो हतियार के हो रु भन्ने कुरा खुलेको छैन । घाँटीको घाउ हेर्दा चक्कुको प्रयोग भएको आशंका गरिएको छ ।

पार्वतीकाअनुसार लक्ष्मी दुई जना भाईबहिनीसहित छिमेकीको घरमा पसेपछि मात्र ज्यान बचाउन सफल भएकी हुन् । २०६० सालमा ललितासँग शेरबहादुर नाम्जालीले मागी विवाह गरेका थिए । आफन्तकाअनुसार उनीहरुबीच विगतदेखि सुमधुर सम्बन्ध थियो ।

‘उहाँहरुबीच अहिलेसम्म झगडा, वादविवाद भएको सुनेकै थिएनौँ तर एक्कसाी यस्तो घटना कसरी भयो अचम्म लागेको छ,’ पार्वती भन्छिन्, ‘हामीलाई त सपना हो कि जस्तो लागिरहेको छ ।’ भारतमा रोजगारी गर्दै आएका नाम्जाली मगर गत साउनमा मात्र पञ्जाब गएका थिए ।

घटनापछि राति नै फरार भएका उनलाई कैलाली प्रहरीले बिहीबार बिहान पक्राउ गरेको थियो । उनलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।