धनगढी- अविरल वर्षापछि कैलालीको मोहना र खुटिया नदीमा आएको बाढीमा फसेका २९ जनाको उद्धार गरिएको छ । धनगढी उपमहानगरपालिका- १८ नुक्लीपुरस्थित मोहना र खुटिया नदीको दोभानमा आइतबार साँझ करीब ६ बजे अचानक बाढी आउँदा २९ जना बाढीमा फसेका थिए ।
धनगढी उपमहानगरपालिका १८ का वडाध्यक्ष भुवन रिजालका अनुसार फूलबारी डिपो बजार भन्दा २ किलोमिटर पश्चिममा पर्ने सो दोभान क्षेत्रमा फसेकाहरुको उद्धार गरिएको छ । पहिलो लटमा १६ जनाको र दोस्रो लटमा १३ जनाको सकुसलै उद्धार गरेको सशस्त्र प्रहरीका प्रहरी नायव उपरीक्षक किसन टेरले जानकारी दिए ।
अन्ध्यारो भइसकेको समयमा नदीमा फसेकाहरुको आवाजको भरमा उद्धार गरिएको टेरले जानकारी दिए । उनीको उद्धार कार्य नेपाल प्रहरी, सशस्त्र प्रहरीको टोलीले गरेको हो । सो क्षेत्र नदी तटीय क्षेत्र हो । नदी पारि गाई बस्तु चराउन गएका तथा भारत गएकाहरु फर्किने क्रममा नदीमा फसेका हुन् ।