पर्यटन विकासमा पूर्वाधार तगारो, सरकारलाई छैन हतारो
2022/09/27, 5:57
 
ss

 

धनगढी– सुदूरपश्चिम प्रदेशलाई पर्यटन विकासको राम्रो सम्भावना भएको प्रदेशका रूपमा लिइन्छ। र, हो पनि। त्यति मात्र होइन सुदूपश्चिमलाई सुन्दरपश्चिमको उपमाले पनि चिन्ने गरिन्छ। सुदूरपश्चिम प्रदेशमा तराईका दुई तथा पहाडका सात जिल्लामा धार्मिक, सांस्कृतिक, पुरातात्विक, साहसिक (हिमाल आरोहण, र्‍याफ्टिङ, प्याराग्लाइडिङ), ग्रामीण पर्यटन लगायतको राम्रो सम्भावना छ। 

तर, आवश्यक पूर्वाधारको कमिका कारण पर्यटन विकासले गति लिन सकेको छैन। पर्यटन व्यवसायीहरू आवश्यक पूर्वाधारको कमीका कारण आन्तरिक तथा बाह्य पर्यटक आगमनको अवस्था कमजोर रहेको बताउँछन्।  सुदूरपश्चिम प्रदेश सरकार, स्थानीय तह तथा संघीय सरकारले पर्यटन पूर्वाधार विकासमा उचित ध्यान दिन नसकेको पर्यटन व्यवसायीहरूको गुनासो छ। पर्यटन व्यवसायी किशोर खडकाले भने, ‘प्रदेशका पर्यटकीय स्थलसम्म पुग्न पर्यटकलाई सहज छैन। तर, प्रदेश सरकारले त्यसमा ध्यान दिएको छैन।’

उनले सुदूरपश्चिम प्रदेश सरकारले पर्यटन शीर्षकका नाममा स–साना मन्दिरहरूमा मात्रै बढी बजेट विनियोजन गरिरहेको बताए। पर्यटन व्यवसायी खड्काले भने, ‘यहाँ पर्यटकलाई आकर्षण गर्ने सक्ने गन्तव्य रहेपनि पर्यटकलाई खाने बस्ने, यातायात लगायतका सुविधा कसरी पुर्‍याउने भन्ने चुनौती छ।’

सुदूरपश्चिम प्रदेशका अछाम, बझाङ, बाजुरा र डोटी जिल्लाको भू–भाग समेटिएको प्रसिद्ध खप्तड रहेको छ। सुदूरपश्चिम प्रदेशको कैलालीमा कर्णाली नदीमा र्‍याफ्टिङको निकै सम्भावना छ। त्यस्तै, टीकापुर पार्क, विश्व रामसार क्षेत्रमा सूचीकृत घोडाघोडी ताल तथा डल्फिन क्षेत्र, जाखोर ताल, गोदावरी धाम, शिवपुरीधाम आदि महत्त्वपूर्ण गन्तव्य छन्।

कञ्चनपुरको शुक्लाफाँटा वन्यजन्तु आरक्ष, दोधारा–चाँदनीको झोलुंगे पुल, वेदकोटताल, डडेल्धुराको उग्रतारा तथा परशुरामधाम, डोटीको शैलेश्वरी, अछामको रामरोशन, वैद्यनाथधाम तथा पञ्चदेवल, बाजुराको बडीमालिका, बुढीनन्दा, बझाङको सुर्मा सरोवर र साइपाल हिमाल, बैतडीको पात्लाभुमेश्वर गुफा, त्रिपुरासुन्दरी, जगन्नाथ, निंग्लासैनी, दार्चुलाको अपि हिमाल, मल्लिकार्जुन लगायतका धार्मिक, सांस्कृतिक तथा प्राकृतिक पर्यटकीय स्थल रहेका छन्।

यसबाहेक सुदूरपश्चिमको विविध जातजातिको भेषभुषा, कलासंस्कृति, खानपिन, रहनसहन ग्रामीण पर्यटनका भरपर्दो आधारका रुपमा रहेका छन्।  प्रदेशका तराईका दुई जिल्लामा रहेका पर्यटकीय स्थलहरूसम्म सडक यातायातको सुविधाका साथै सुविधा सम्पन्न होटल, लज र अन्य पूर्वाधारको तुलनात्मक रुपमा विकास भइसकेकोले पर्यटन आगमनमा केही सहज भएपनि पहाडी जिल्लामा पूर्वाधार विकास हुन सकेको छैन। जसका कारण पर्यटन विकासले गति लिन नसकेको नेपाल टुर एण्ड ट्राभल्स एशोसिएसन (नाटा) का सुदूरपश्चिम प्रदेश अध्यक्ष पदम विक्रम सिंह बताउँछन्।  ‘प्रदेशमा बढी भारतीय नागरिक आवतजावत गरिरहेका छन्। तर, उनीहरुलाई पनि तराईका दुई जिल्ला बाहेक पहाडी जिल्लामा पुगाउन सकिएको छैन’, उनले भने।

Badimalika1664254445.jpg

होटल व्यवसायी संघ कैलालीका अध्यक्ष कलम बमले पर्यटकको संख्या बढाएर मात्र नभई लगानी गर्न सक्ने वातावरण बनाउन आवश्यक रहेको बताए। उनले भने, ‘पर्यटक आएर मात्र हुँदैन। उनीहरुलाई धेरै दिनसम्म पर्यटकीय क्षेत्रमा भुलाउन सकेमा उनीहरुबाट प्रदेश तथा स्थानीय सरकारले आम्दानी गर्न सक्छ।’ उनले अहिले भारतीय पर्यटक कैलाली र कञ्चनपुरमा आउने तर, केही खर्च नगरी फर्कने अवस्था रहेको बताए।

उनले भारतबाट आउने पर्यटकहरुलाई सुरक्षा निकायहरुले पनि सहज वातावरण बनाउनु पर्ने बताए।  उनले भने, ‘नाकाबाट कोही भारतीय नागरिक यस प्रदेशमा घुम्न आउन खोज्दा त्यहीँ दुःख पाउँछन्। यसले गर्दा उनीहरु दोस्रो पटक यहाँ प्रवेश गर्न मान्दैनन्।’

धनगढी : पाँच वर्षदेखि उही कार्यक्रम
सुदूरपश्चिम प्रदेशको एक मात्र उपमहानगरपालिका हो धनगढी। धनगढी उपमहानगरपालिकाले आर्थिक वर्ष २०७४/७५ देखि आर्थिक वर्ष ०७९/८० सम्म ल्याएको नीति, कार्यक्रम तथा बजेट पुस्तिकामा पर्यटनका कार्यक्रमलाई निरन्तरता दिइरहेको छ।

उपमहानगरपालिकाले पर्यटन विकासका लागि आर्थिक वर्ष २०७४/७५ को नीतिलाई निरन्तरता दिने गरि २०७९/८० सम्मको नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ। उपमहानगरपालिकाका सूचना अधिकारी नरेन्द्र बहादुर खातीले भने, ‘नीतिमा पर्यटन क्षेत्रको विकासका राम्रा कार्यक्रम छन्, तर बजेट विनियोजन गरिएको छैन।’ 

धनगढी उपमहानगरपालिकाले खोलानालाको अतिक्रमित जग्गामा साइकल पथ तथा हरियाली पार्क निर्माण गर्ने योजना आर्थिक वर्ष २०७४/७५ मा अघि सारेको थियो। तर, त्यस समयमा कुनै पनि काम अघि बढेन। उनले भने, ‘साइकल ट्रयाक खोल्ने नीतिमा उल्लेख छ तर, बजेट छैन।’ उनले आर्थिक वर्ष २०७४/७५ देखि हालसम्म पनि बजेट नहुँदा कार्यान्वयन हुन नसकेको बताए।

उपमहानगरपालिकाले कैलाली नाला, सुकुटी नाला, मोहना नदी किनारमा साइकल ट्रयाक निर्माण गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ। सामुदायिक वन भित्रबाट बग्ने कैलाली खोलासहितको क्षेत्रलाई संरक्षण गरी सामुदायिक वनलाई स्थानीय उद्यान बनाउनुका साथै पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने तथा त्यसको वरिपरि साइकल ट्रयाक निर्माण गर्न जनाइएको छ।

‘वडा नम्बर ३ को सामुदायिक वन क्षेत्रदेखि शिवपुरीधाम, जाखोर ताल हुँदै बेहडाबाबासम्म विभिन्न मठ मन्दिर जोड्दै सांस्कृतिक साइकल ट्रयाक निर्माण गरिने छ’ उपमहानगरपालिकाको नीति तथा कार्यक्रममा भनिएको छ।  धनगढी उपमहानगरपालिकाका वडा नम्बर ४, ५, ६, १३ को मानव बस्तीको बीचमा पर्ने ऐलानी, पर्ति, सार्वजनिक जग्गामा रहेको वनलाई बृहत धनगढी पार्क निर्माणका लागि अघि बढाइने उल्लेख छ।

त्यस्तै, उपमहानगरपालिकाले सार्वजनिक निजी साझेदारी अवधारणा अनुसार भ्यू टावर तथा घण्टाघर निर्माणलाई पनि निरन्तरता दिने नीति तथा कार्यक्रममा उल्लेख छ।  नेतुवा ताल, जाखोरतार, तिल्केताल, बेलाताल, वेहडाबाबा ताल, चौफेरी ताल, सुन्दरीताल र नथनी ताल, कथनी ताल लगायत विभिन्न वडामा रहेका तालहरूलाई पर्टकीय क्षेत्रको रुपमा विकास गर्ने नीतिलाई पनि निरन्तरता दिएको छ।

धनगढी उपमहानगरपालिका वडा नम्बर ३ को आदर्श सामुदायक वनमा जडीबुटी खेतीको प्रारम्भ गरि सोही वनमा पिकनिक स्थल निर्माण गर्ने कार्यको थालनी गर्ने, पर्यटन प्रवद्र्धनका लागि होमस्टेको नीति प्रवद्र्धन गर्ने, भादा होमस्टेलाई थप प्रवर्द्धन गरि आन्तरिक तथा बाह्य पर्यटकहरूको आकर्षक केन्द्रको रुपमा विकास गर्ने नीतिलाई निरन्तरता दिएको छ।

उपमहानगरपालिकाले नीति तथा कार्यक्रममा पर्यटन क्षेत्रको भौतिक पूर्वाधार क्षेत्रको विकास गर्ने भने पनि वार्षिक कार्यक्रम पुस्तिकामा अन्य ताल तथा मन्दिरहरुमा बजेट समावेश गरेको छ। नेपाल सरकार तथा प्रदेश सरकारबाट हस्तान्तरण भएका कार्यक्रममा उपमहानगरपालिको नीति तथा कार्यक्रममा उल्लेख भएका कार्यक्रम समावेश छैनन्। उपमहानगरपालिकाको वार्षिक पुस्तिका कार्यक्रममा विभिन्न वडामा रहेका मन्दिर मर्मत, पर्खाल निर्माण, व्यवस्थित ताल बनाउने भन्दै बजेट विनियोजन गरिएको उल्लेख छ।

Ghodaghodi1664254445.jpg

प्राथमिकतामा घोडाघोडी ताल
विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल क्षेत्रको विकासका लागि घोडाघोडी नगरपालिकाले प्राथमिकता राखेको छ। आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रममा भनिएको छ, ‘घोडाघोडी तालको पर्यटन लवकासका तालको सौन्दर्यकरण र पानीका फोहरासहितको गार्डेन निर्माण गरिने छ।’

कैलालीको घोडाघोडी धार्मिक र पर्यटकीय हिसाबले सुन्दरस्थल मानिन्छ। पूर्व–पश्चिम राजमार्ग भएर कैलाली पुग्नेमध्ये घोडाघोडी नपुग्ने बिरलै हुन्छन्। नाम मात्र सुनेका पर्यटकको पनि यसले ध्यान खिच्ने गरेको छ।

चार मिटर औषत गहिरो रहेको घोडाघोडी तालको क्षेत्रफल १३८ हेक्टर रहेको छ। ताल आसपास रहेका अन्य १३ स–साना तालहरूसमेत गरेर घोडाघोडी सिमसार क्षेत्रका रुपमा रहेको छ। घोडाघोडीमा तालैतालले ओगटेको क्षेत्रफल २४८ हेक्टर रहेको छ। यसको कूल क्षेत्रफल दुई हजार ५६३ हेक्टर छ। ताल छेउमै धार्मिक क्षेत्र पनि जोडिएको छ। घोडाघोडी  ताल र मन्दिरको अवलोकन दर्शन गर्न आन्तरिक तथा बाह्य पर्यटकहरू पुग्ने गरेका छन्।

घोडाघोडी घुमघाम गर्न पर्यटकहरूलाई कुनै असुविधा हुँदैन। घोडाघोडी ताल नजिक सुखड गाउँमा आधुनिक होटेलहरू सञ्चालनमा छन्। गाउँको परिवेशमा होमस्टेमा बस्न चाहने पर्यटकका लागि माघी गाउँमा होमस्टे सञ्चालनमा छ। यो क्षेत्रमा बढीभन्दा बढी पर्यटक भित्र्याउन गुरुयोजना तयार गरेको नगरपालिकाले जनाएको छ।

घोडाघोडीमा दुर्लभ वनस्पति र चराहरूका प्रजाति संरक्षित छन्। त्यस्तै, रैथाने प्रजातिका माछा, दुर्लभ रातो टाउके कछुवा र दुर्लभ गोहीको प्रजननस्थल पनि घोडाघोडी ताल बनेको छ। ताल र सिमसार क्षेत्र वरपर अति लोपोन्मुख मानिने जंगली धान समेत पाइन्छ।

घोडाघोडीमा ३१ प्रजातिका माछा, १४८ प्रजातिका चरा, ३२ प्रजातिका पुतली, ११ प्रजातिका गोही, ७ प्रजातिका घस्रिने जन्तु, ४५० भन्दा बढी प्रजातिका वनस्पति छन्। सदरमुकाम धनगढीदेखि एक घण्टा र नेपालगञ्जदेखि ३ घण्टामा घोडाघोडी पुग्न सकिन्छ।

कैलालीका पर्यटकीय स्थल
कैलाली बढी सामुदायिक वन, ताल तलैया, विश्व रामसार सूचीमा सूचीकृत घोडाघोडी  ताल, वसन्ता जैविक मार्ग, विभिन्न भेषभुषा, जातजाती, रहनसहन, संस्कार र संस्कृतिले भरिएको जिल्ला हो।

कैलालीमा १३ वटा स्थानीय तहले ताल, पार्क तथा मन्दिरलाई पर्यटकिय गन्तव्य बनाइरहेका छन्। जिल्लामा थारु समुदायको कलासंस्कृति, रहनसहन, परिकार पर्यटकका लागि आकर्षण रहँदै आएको छ।  जिल्लाका हरेक स्थानीय तहमा पर्यटनको प्रचुर सम्भावना रहेको छ। स्थानीय तहहरूले पर्यटन विकासका लागि विविध प्रयास गरिरहेका छन्।

गोदावरी नगरपालिकाको गोदावरी धाम, हाटखोली, लामीताल, बनदेवी मन्दिर, बुढीताल, भल्का पिक्निक स्थल, मछेली नदी पर्यटकीय सम्भावना क्षेत्र रहेको पर्यटक व्यवसायीहरू बताउँछन्।

गौरिगंगा नगरपालिकामा राधाकृष्ण मन्दिर, कालिका मन्दिर, बागडोला मन्दिर, गायत्री अनुष्ठान, दैद्वारी मन्दिर, गोलादेउ मन्दिर, मोहन्याल मन्दिर, सप्तऋषि आश्रम, शिव मन्दिर, कालिका मन्दिर, रामकृष्ण मन्दिर र मोहन्याल बाबा मन्दिरलाई पर्यटकीय स्थलका रुपमा विकास गर्ने प्रयास भइरहेको छ।

त्यस्तै, घोडाघोडी नगरपालिकामा विश्व सिमसार सूचीमा सूचीकृत घोडाघोडी  ताल रहेको छ। घोडाघोडी नगरपालिकामा सबैभन्दा बढी सामुदायिक वन, तालतलैया रहेका छन्।  भजनी नगरपालिका, टीकापुर र जानकी नगरपालिकाको प्रमुख पर्यटकीय गन्तव्यका रुपमा डल्फिन क्षेत्र रहेको छ। तीनवटै स्थानीय तहले डल्फिन क्षेत्र संरक्षणलाई प्रोत्साहन गरी आन्तरिक तथा बाहय पर्यटक भित्र्याउने नीति लिइने उल्लेख गरेका छन्।

कैलालीको लम्कीचुहा नगरपालिकाले कर्णाली नदीमा र्‍याफटिङलाई जोड दिएको छ। बर्दगोरिया गाउँपालिकाले बर्दगोरिया धामको विकासमा ध्यान केन्द्रित गरेको छ।  त्यस्तै, कैलारी गाउँपालिकाले बनदेवी मन्दिरमा पार्क निर्माण, कालीमाई मन्दिर, कोइलही ताल, सामरचौरा गाउँमा होमस्टे सञ्चालन र शिव मन्दिर खरेटी गाउँमा पर्यटकीय संरचना निर्माणका लागि बजेट विनियोजन गरेको छ।

जोशीपुर गाउँपालिकाले लभ्ली पार्क निर्माण गरेको छ भने चुरे गाउँपालिकाले गर्भा दरबार, कम्पासे धुरा, रातीपहिरो क्षेत्रलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने जनाएको छ।