धनगढी- नेपाल–भारत सीमासंग जोडिएको कैलालीमा चाडपर्व लक्षित विशेष सुरक्षा योजना लागू भएको छ । जिल्लावासीले शान्ति, सुरक्षा र अमनचयनका साथ चाडपर्व मनाउन पाउन भनेर दसैं, तिहार र छठ लक्षित विशेष सुरक्षा योजना बनाएर लागू गरिएको हो ।
चाडपर्वको बेला हुन सक्ने विभिन्न आपराधिक घटना र उच्छृङ्खल कार्य नियन्त्रण गर्ने उद्देश्यले विशेष सुरक्षा योजना लागू गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताए । ‘हामीले विशेष सुरक्षा योजना बनाएर त्यहि अनुसार हाम्रो सबै संयन्त्र परिचालन गरेका छौंं’, उनले भने ।
चाडपर्वको बेला चोरी, डकैती, लागुऔषधको कारोबार, कुटपिट, झैझगडा, दुव्र्यवहार लगायतका आपराधिक क्रियाकलाप बढी हुन सक्ने सम्भावना रहन्छ । यस्ता क्रियाकलाप नियन्त्रणका लागि प्रहरीको क्वीक रेस्पोन्स टिम ९क्युआरटी०, चोरी, डकैती नियन्त्रण टिम परिचालन परिचालन गरिएको छ । यस्तै, विभिन्न सूचना सङ्कलनका लागि सादा पोशाकको प्रहरी खटाइएको छ । यसैगरी, मोबाइल गस्ती टोली पनि खटाइएको छ । समुदाय प्रहरी कार्यक्रम अन्तर्गत सामुदायिक प्रहरी पनि चाडपर्वमा हुन सक्ने अवाञ्छनीय गतिविधि नियन्त्रणका लागि खटिने प्रहरी नायब उपरीक्षक जोशीले बताए ।
‘कहिलेकाँही चाडपर्वमा रमाउँदा रमाउँदै मान्छे आफ्नो सम्पत्ति वा घरतिर रेखदेख गर्न भुल्ने गर्दछन् । त्यस्तै, सहरमा डेरा गरेर बस्नेहरु आ–आफ्नो घरतिर जाने गर्दछन्’, उनले भने,‘त्यस्तो अवस्थामा चोरी हुन सक्ने भएकाले चोरी, डकैतीका घटना नियन्त्रणका लागि प्रहरीको छुट्टै टिम रहेको छ ।’
कुनै पनि घटनाको सूचना पाएको दुई मिनेटभित्रै प्रहरी पुग्ने गरी सुरक्षा योजना तयार पारिएको जनाइएको छ । चाडपर्वका बेला लागुऔषधको कारोबार पनि हुन सक्ने अवस्थालाई मध्यनजर गरेर निगरानी बढाइने जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । लागुऔषध, पटाका जस्ता विष्फोटक पदार्थ खोजविनका लागि सीमा क्षेत्र र बसपार्कमा तालिम प्राप्त कुकुर पनि परिचालन गरेर चेकजाँच गरिने जनाइएको छ ।
यस्तै, चाडपर्वमा जुवातास खेल्ने कार्यलाई पनि निरुत्साहित गरिने जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जुवातास खेल्नेलाई नियन्त्रणमा लिएर कारबाही गरिने प्रवक्ता जोशीले बताए । चाडपर्व मनाउन भारतबाट स्वदेश फर्कनेहरु सीमा क्षेत्रमा लुटिने, ठगिने जस्ता घट्ना पनि घट्दै आएका छन् । सीमा क्षेत्रमा हुने त्यस्ता घटना नियन्त्रणका लागि विशेष ध्यान दिइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । स्वदेश फर्कने कामदारहरु समस्यामा नपरुन भनेर भारतीय काउन्टर पार्टसंग समन्वयसमेत भइरहेको जोशीले बताए ।
यात्रुसंग एक मिनेट
कैलालीमा ‘यात्रुसँग एक मिनेट’ कार्यक्रम सञ्चालन गरिएको छ । चाडपर्वलाई लक्षित गर्दै सो कार्यक्रम सञ्चालन गरिएको हो । सुदूरपश्चिम प्रदेशकै व्यापारी केन्द्रका रुपमा रहेको धनगढीस्थित बसपार्कबाट बस छुटिसकेपछि जिल्लाका ठाउँठाउँमा स्थापना गरिएका यात्रु सहायता कक्ष तथा जाँचस्थलमा यात्रुसँग एक मिनेट कार्यक्रम सञ्चालन गरिएको जिल्ला ट्राफिक कार्यालयका प्रमुख वकिलबहादुर सिहंले जानकारी दिए ।
बसपार्कबाट छुटेका लामो तथा छोटो दूरीका सार्वजनिक सवारी विभिन्न यात्रु सहायता कक्षमा पुगेलगत्तै जाँचमा सुरक्षाकर्मीले चालकका बारेमा गाडीमा सवार यात्रुसँग गरिने एक मिनेटको कुराकानीलाई यात्रुुसँग एक मिनेट भनिएको छ । ‘यात्रुको सहजताका लागि एक मिनेटमा विभिन्न कुरा सोधिन्छ’, प्रमुख सिंहले भने,‘टिकटमा भए अनुसारको सिट पाउनु भएको छ की छैन आरक्षण भएको सिट सदुपयोग गर्न पाउनुभएको छ की छैन रु तोकिए बमोजिमको भाडा तिर्नु भएको छ वा बढी रु चालक सहचालकले तपाईसँग कुनै नराम्रो व्यवहार गरेको छ की छैन चालकको सेवा प्रभाव कस्तो छ यी यावत कुरा एक मिनेटमा सोधेर यात्रुलाई तपाईको यात्रा शुभ रहोस भन्ने तवरले यो कार्यक्रम सञ्चालन गरिएको हो ।’
यी चारपाँच वटा प्रश्न एक मिनेटमा सोध्ने तथा सबै ठीक छ भने गन्तव्य स्थानमा जान अनुमति दिने र यदि नियम विपरीत भएको पाइएमा तुरुन्तै ‘रेन्सपोन्स’ गरी कारबाही गर्ने गरेको उनले बताए । त्यसैगरी बसपार्कबाट बस छुट्ने समय अगावै सार्वजनिक सवारी साधनको यान्त्रिक अवस्थाबारे जाँच गर्न पनि सुरु गरिएको छ ।
अक्सर गरेर अघिल्ला वर्षमा सवारी दुर्घटनाको विश्लेषण गर्दा थोत्रा गाडी तथा यान्त्रिकरण गड्बडीका कारण दुर्घटना हुने गरेकाले चाडपर्वलाई लक्षित गरी सार्वजनिक सवारीसाधनको यान्त्रिक अवस्थाको जाँचमा ध्यान दिइएको हो । चाडपर्वमा सवारी साधनको चाप बढ्दै जाने भएको हुँदा सवारी साधनको यान्त्रिक अवस्था जाँच नगरी सवारीसाधन सञ्चालन गर्दा सवारी दुर्घटना हुनसक्ने भन्दै उक्त कार्यलाई निरुत्साहित गर्न र सवारी दुर्घटना न्यूनीकरण लागि यातायात व्यवस्था कार्यालय धनगढीका प्राविधिकसहितको संयुक्त टोलीले सवारी साधनको यान्त्रिक अवस्थाबारे जाँच गर्न सुरु गरिएको प्रमुख सिंहको भनाइ छ ।
सवारी साधनको यान्त्रिक अवस्थाबारे जाँचका साथै सवारीसाधनमा अगाडिको सिसा तथा ९ऐना०मा विभिन्न किसिमका झालर, रुमाल तथा अन्य सजावटका सामान राखिएका छन् भने तुरुन्त हटाउने गरिएको छ ।
भीडभाड बढ्यो
चाडपर्व नजिकिएसँगै धनगढी बजार क्षेत्रमा भीडभाड बढेको छ । बडादसैँं, शुभदिपावली एवं छठपर्व नजिकिएसँगै यति बेला पर्व मनाउन रोजगारीका लागि भारतका विभिन्न सहर पसेका आफ्नो जन्मथलो फर्कन दिनहुँ कैलालीको त्रिनगर भन्सार नाका हुँदै प्रदेशको अस्थायी राजधानी धनगढी पुग्ने गरेका छन् ।
अध्ययन तथा जागिरका सिलसिलामा काठमाडौँ लगायतका सहर गएका पनि कोही घर फर्केका छन् भने कोही फर्कने क्रममा छन् । त्यस्तै अन्य विभिन्न ठाउँ गएका पनि पर्व मनाउनैका लागि घर फर्किरहेका छन् । त्यसले गर्दा हिजोआज बजारमा अत्यन्त भीडभाड बढेको पाइन्छ । चाडवाड नजिकिएसँगै दिनहुँ बजारमा भीडभाड बढेको धनगढीका स्थानिय भोजबहादुर मल्लले बताए ।
ट्राफिक व्यवस्थापन कार्ययोजना
सुदूरपश्चिममा चाडपर्व लक्षित ट्राफिक व्यवस्थापनको कार्ययोजना लागू भएको छ । धनगढीमा मात्रै ट्राफिक प्रहरीले ९ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरेको छ । बसपार्क लगायतका विभिन्न स्थानमा सहायता कक्ष स्थापना गरिएको हो । दसैँ, तिहार र छठ पर्वलाई लक्षित गरी लागू गरिएको कार्ययोजनामा काडाइ गरिएको दाबी प्रहरीको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रमुख वकिल सिंहले भने, ‘९ स्थानमा सहायता कक्ष स्थापना गरेका छौं । सवारीको यान्त्रिक जाँच पनि हुने गरेको छ । दुर्घटना न्यूनिकरणमा हामीले विशेष ध्यान दिएका छौं ।’
चाडपर्वको समयमा सार्वजनिक सवारी साधनमा यात्रुको चाप बढी हुने गरेको छ । विशेषगरी मजदुरी गर्न भारत गएकाहरु घर फर्किने हुँदा पनि चाप बढी हुने गरेको हो । भने, देशभित्रै पनि पढाइ तथा काम विशेषले घरबाहिर बस्नेहरु जन्मथलो फर्किने भएकाले पनि चाप बढ्ने गरेको छ । यात्रुको संख्या बढी हुने भएकाले यो समयमा दुर्घटनाको जोखिम बढी हुन्छ ।
सवारी साधनमा सिट क्षमताभन्दा बढी यात्रु राख्ने, चालकले मादकपदार्थ सेवन गर्ने, सवारीको अवस्था चेकजाँच नहुने लगायतका कारण दुर्घटनाको जोखिम बढी हुने गरेको हो । दुर्घटना न्यूनिकरण गर्न सुदूरपश्चिम प्रदेशभर सहायता कक्ष स्थापना गरी व्यवस्थापन भइरहेको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रमुख तथा प्रहरी उपरीक्षक प्रविण धितालले बताए ।
‘सबै जिल्लामा ट्राफिक व्यवस्थापनको काम भइरहेको छ । सहायता कक्ष स्थापना भएका छन् । । सवारी जाँच हुन्छ । मापसे गर्ने चालकलाई कारबाही भइरहेको छ । लामो दुरीमा दुई चालकको व्यवस्था अनिवार्य छ । टाइम कार्ड पनि लागु गरेका छौं’ उनले भने । अहिले ट्राफिक प्रहरीले सवारी साधनको यान्त्रिक अवस्था जाँचसमेत गर्ने गरेको छ ।
चाडपर्वका बेला दुर्घटना हुनसक्ने भन्दै ट्राफिक प्रहरीले सवारी साधनको यान्त्रिक अवस्था जाँच गर्न लागेको हो । ट्राफिक प्रहरी र यातायात व्यवस्था कार्यालयका मेकानिकल इन्जिनियरको सहकार्यमा यान्त्रिक अवस्था जाँच भइरहेको छ । यात्रुसँग एक मिनेट कार्यक्रम लागू गरेको ट्राफिकले बेला बेला मापसेसमेत चेक गर्ने गरेको छ । लामो दुरीमा दुई चालक राख्ने, क्षमताभन्दा बढी यात्रु राख्ने लगायतका विषयमा समेत कडाइ गरेको प्रहरी उपरीक्षक बताए ।