सुदूरपश्चिममा साढे १६ लाख मतदाता
2022/09/30, 5:17
 
ss

धनगढी– आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सुदूरपश्चिम प्रदेशमा १६ लाख ५८ हजार ४ जना मतदाताले मतदान गर्ने पाउने भएका छन् । यस प्रदेशअन्तर्गत रहेको नौ जिल्लामा गरी प्रतिनिधिसभातर्फ १६ र प्रदेशसभातर्फ ३२ वटा निर्वाचन क्षेत्र छन् ।

प्रदेश निर्वाचन कार्यालयका अनुसार सबैभन्दा बढी मतदाता तराईमा पर्ने कैलालीमा छन् । कैलालीमा ५ लाख ५ सय १४ जना मतदाता छन् । सुदूरपश्चिममा सबैभन्दा धेरै निर्वाचन क्षेत्र भएको जिल्ला पनि कैलाली नै हो । कैलालीमा प्रतिनिधिसभातर्फ पाँच र प्रदेशसभातर्फ १० वटा निर्वाचन क्षेत्र छन् ।

कैलालीपछि कञ्चनपुरमा छन् । कञ्चनपुमा ३ लाख २ हजार ५०९ मतदाता रहेका छन् । डडेल्धुरामा ९१ हजार २०१, बैतडीमा १ लाख ५० हजार १५६ मतदाता रहेको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ । दार्चुलामा ८९ हजार १५४, डोटीमा १ लाख २४ हजार ८७०, बझाङमा १ लाख २२ हजार ३७६ मतदाता रहेका छन् । अछाममा १ लाख ५८ हजार ५७ मतदाता छन् ।

गत वैशाखमा सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा यस प्रदेशको कूल मतदाता संख्या १६ लाख ३२ हजार १५० थियो । ०७४ मा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा यस प्रदेशमा १४ लाख ३५ हजार ६७४ मतदाता थिए ।

सुदूरपश्चिम प्रदेश निर्वाचन कार्यालय धनगढीका प्रमुख प्रेम भट्टले आचारसंहिता जारी भइसकेको र निर्वाचन तयारीका अन्य कामहरू पनि धमाधम भइरहेको बताए ।  उनले निर्वाचन अधिकृतको कार्यालय स्थापना, तालिम र प्रशिक्षण लगायतका तयारी भइरहेको बताए  ।