कैलालीमा डल्फिन संरक्षित क्षेत्र घोषणा गर्न माग
2022/10/02, 5:56
 
ss

धनगढी- कैलालीमा डल्फिन देखिँदै आएको क्षेत्रलाई डल्फिन संरक्षित क्षेत्र घोषणा गर्न माग गरिएको छ। टीकापुर, भजनी नगरपालिकाको क्षेत्र समेटेर संरक्षणकर्मीद्वारा डल्फिन संरक्षित क्षेत्र घोषणा गर्न माग गरिएको हो। टीकापुर नगरपालिका–७, बैदीस्थित ढुङ्गाना टोल, भजनी नगरपालिकाको–८, ३ लगायतका क्षेत्रमा बढी डल्फिन देखिने गर्छ। 

बर्सातको समयमा मोहना, पथरैया, काँढा, कान्द्रालगायतका नदीमा देखा पर्ने यी दुर्लभ जलप्राणीको अस्तित्व खतरामा रहेकाले जोगाउनका लागि डल्फिन संरक्षित क्षेत्र घोषणा गर्न आवश्यक रहेको संरक्षणकर्मीले माग गरेका छन्। संरक्षण क्रियाकलापलाई व्यवस्थित रूपमा अगाडि बढाउन र व्यवस्थापनका लागि संरक्षित क्षेत्र घोषणा गर्नुपर्ने संरक्षणकर्मी भोजराज ढुङ्गानाले बताए। 

यस्तै सबैको सहयोग र समन्वय भए डल्फिन देखिने क्षेत्रलाई डल्फिन संरक्षित क्षेत्र घोषणा गर्न सकिने डिभिजन वन कार्यालय पहलमानपुरका प्रमुख गोकुल रिजालले बताए। “कर्णाली र वसन्ता कोरिडोर क्षेत्रको डल्फिन सर्किट क्षेत्रलाई सबैको पहलमा प्रदेश सरकारले संरक्षित क्षेत्र घोषणा गर्न सक्छ,” उनले भने। 

डल्फिन पाइने क्षेत्र टीकापुर नगरपालिकाको नमुना क्षेत्र रहेको नगरप्रमुख रामलाल डङ्गौरा थारूको भनाइ छ। उनले यो क्षेत्रलाई पर्यटकीय क्षेत्रका रूपमा चिनाउन र विकास गर्न टीकापुर नगरपालिकाको स्रोतसाधनले भ्याएसम्म काम गर्ने प्रतिबद्धता जनाए।