धनगढी उपमहानगरपालिका–१२ जुगेडा सी गाउँका बासुदेव मिश्र कोरोनापछि घरमै छन्। १८ वर्षको उमेर देखिनै परदेशी जीवन बिताइरहेका मिश्रलाई कोरोनाले घरमै बस्ने अवसर दिलायो। अहिले उनी दिनमा अटो चलाउँछन् भने बिहान-बेलुकाको समयमा तरकारी र फूल खेतीमा संलग्न हुन्छन्।
तरकारी र बोटबिरूवाको खेती गर्न थालेको तीन वर्ष समय पुगे पनि फूल खेती भने उनले गत असारदेखि सुरू गरेका हुन्। गत वर्ष मिश्रको घरमा तिहार थिएन। बारीका फूल प्रयोगमा नआएपछि उनले १५ माला गाँसेर बिक्री गरे। ७० रुपैयाँमा एक माला बिक्री गरे। करिब एक हजार बढी रुपैयाँ आम्दानी हुँदा उनलाई फूलबाट पनि पैसा आउने रहेछ भन्ने थाहा भयो।
‘पोहोर थोरै माला बिक्री गरेपछि मलाई लोभ लाग्यो, फूलबाट पनि पैसा आउने रहेछ भन्ने थाहा भयो,’ मिश्रले भने। उनले तिहारमा मात्र नभई मेला, महोत्सव, पूजापाठ, सभा, महायज्ञ, विवाह, ब्रतबन्ध, पास्नी लगायतका कार्यमा फूल प्रयोग भएको देखे।
उनले बजारको राम्रो सम्भावना देखेपछि दुई कठ्ठा जमिन भाडामा लगे। घरछेउमै भाडामा लगेको जमिनमा उनले गत असारको १५ गते सयपत्री र मखमली फूलको बेर्ना हाले। ‘बजारमा हाइडब्रेड बिउ पाइएन, घरकै लोकल बिउ हाले, फूल खेतीबारे धेरै जानकारी पनि भएन सुरूआतमा जतिको जाने त्यसरी नै काम गरे,’ उनले भने।
उनले लगाएको फूल फुल्नसम्म करिब ९० दिन लाग्यो। तिहार भएसँगै अहिले मिश्र र उनकी श्रीमती आशा बारीका फूलहरू गाँसेर बिक्री गर्न व्यस्त छन्। एक कठ्ठा जमिनमा ढकमक सयपत्री फूलहरू फुलेका छन् भने अर्काे एक कठ्ठामा मखमली। बारीका फूल खरिदका लागि उनीहरूकहाँ अर्डर आइसकेको छ।
कतिपय मान्छेहरू उहाँको घरमा फूल खरिदका लागि आइरहेका छन्। ‘फूल कम तर माग बढी भएकोले यो वर्ष धान्न सकिने अवस्था छैन, अर्काे पटक धेरै फूल लगाउँछु,’ उनले भने।bलोकल बिउ लगाएकोले तिहारमा अपेक्षा अनुसार प्रशस्त फूलहरू नफुल्दा मिश्रलाई खल्लोपन लागेको छ।
यद्यपी उनी सुरूआत भएकोले केही सिक्ने अवसर प्राप्त भएको ठान्छन्। ‘मैले कस्तो हुन्छ भनेर हेरेको मात्रै, अपेक्षा भन्दा राम्रो हुने रहेछ, अब थप फूलको विस्तार गरेर व्यवसायिक तरिकाले अगाडि बढ्छु,’ उनले भने। उनले एक मालाको एक सय र किलोको चार सयका दरले फूल बिक्री गरिरहेका छन्।
किलोभन्दा पनि मालामा बढी फाइदा हुने भएकोले अधिकांश फूल माला बनाएर बिक्री गर्ने मनसायमा रहेको मिश्र बताउँछन्। अहिलेसम्म मिश्रको खेतमा एक क्विन्टल जति मखमली र सयपत्री फूल फूलिसकेका छन्।
खेतमा फूलेका फूल देखेर वरपरका छिमेकी पनि दंग छन्। ‘वरपरका छरछिमेकीहरू यो पटक त तिहारमा फूलमालाको लागि केही तनाव नहुने भयो भन्छन्, धेरै मकहाँ नै फूल खरिद गर्न आइरहेका छन्, छिमेकीहरूलाई अपुग भए पनि उनीहरूको भाग अलग छुट्याइराखेका छौं,’ मिश्रले भने।
घरमै बसेर प्रत्येक मालामा सय रुपौयाँ फाइदा आउनु मिश्र दम्पतीलाई खुसी लाग्छ। ‘बजारमा जताततै प्लाष्टिकका मालाले अर्गानिक फूलमालाको महत्व ओझलेमा पारेको छ, स्थानीय स्तरमै फूल खेती विस्तार हुने क्रम बढे, भारतबाट आउने प्लाष्टिकका मालाको आयात घटाउन सकिन्छ,’ मिश्रकी श्रीमती आशाले भनिन्।
खासगरी महिलाहरूको लागि पुष्पखेती सहज र गतिलो स्वरोजगारको माध्यम बन्ने आशाको भनाइ छ। ‘फूल टिप्ने, गोडमेल गर्ने, मिलाउने, माला बनाउने काम महिलाहरू बढी गर्छन्, त्यही कारण यो महिलाहरूका लागि गतिलो स्वरोजगार बन्छ,’ आशाले भनिन्।
पुष्प खेतीबारे महिलाहरूलाई तालिम दिएर स्थानीय तहले योजना नै बनाएर हौसल र मनोबल बढाउने खालका काम गर्नुपर्ने आशाको भनाइ छ। स्वदेशमा केही गर्छु भन्नेहरूलाई सरकारले मनबोल बढाउन आवश्यक रहेको आशाको अनुभव छ।
‘नगरपालिका, वडा कार्यालयबाट तरकारी, फलफूल खेतीसम्बन्धी तालिम आयो, अनुदान आउँछ भन्छन् तर, हामीहरूले त अहिलेसम्म कहिले पनि पाएका छैनौं,’ उनले भनिन्। वासुदेवले आशाको नामबाट तरकारी फूलखेती फर्म दर्ता गरेका छन्।
‘हामीले वास्ता नगरेको कामबाट पनि चासो देखाएर मेहनत गरे पैसा आउँदो रहेछ, फूलबाट पनि पैसा आउँछ भन्ने थाहा पाए, करोडौं रुपैयाँमा भारतबाट भित्रिने कृत्रिम फूलहरू रोक्न सकिन्छ,’ वासुदेव भन्छन्।
उनलाई अहिलेसम्म घरमा बस्न सहयोग कृषि उत्पादनले धेरै मद्दत गरेको छ। ‘हामीले कृषि उत्पादनको क्षेत्रमा काम गरे, पैसा आउँछ, भोकै रहिँदैन, आत्मनिर्भर भइन्छ, अर्काे विषादी हालेको तरकारी, खानुपर्दैन, करोडौं पैसा नकमाइए पनि दुई चार पैसा आउनु हामीजस्ता किसानलाई राम्रो मानिन्छ,’ उनले भने।
सुदूरपश्चिममा राम्रो सम्भावना देखिएपछि पछिल्लो समय फूख खेतीतर्फ आकषर्ण हुनेहरूको संख्या बढेको छ। तिहारको सिजनमा मात्र नभई अन्य समयमा पनि माग बढ्दै गएको र त्यही अनुसार मूल्य पनि पाइने हुँदा फूल खेतीतर्फ मानिसहरूको आकर्षण पनि विस्तारै बढ्दै गएको हो। सेतोपाटीबाट