सुदूरपश्चिमबाट दिनकै हजारौं जान्छन् भारत, भन्छन्-भोटले भोक मेटिँदैन
2022/11/25, 2:32
 
ss

पछिल्लो समय दर्जनौं युवा सीमा नाकामा नाम टिपाउन लाइनमा लाग्ने गरेका छन् । चुनाव सकिएसँगै नेपाली युवाहरू भारतमा रोजगारीका लागि सीमा नाकामा लर्को नै लाग्न थालेको हो । सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाबाट दैनिक एक हजार भन्दा बढी युवा गौरीफन्टा नाका हुँदै भारत जाने गरेको प्रहरी अभिलेख छ । बेरोजगारीका कारण कामको खोजीमा भारत जानु परेको उनीहरूको गुनासो छ । 
 
उनीहरू निर्वाचनमा मत दिएर भारततर्फ गइरहेको कुरा सुनाउँछन् । आफू भोट हालेर नेपालमै बसेर परिवार पाल्न नसकिने भएपछि कामको खोजीमा भारतको ब्याङ्लोर जान लागेको जयपृथ्वी नगरपालिका नरबहादुर बोहराले बताए । ‘नेताहरूलाई पटक पटक जितायौ । तर हाम्रो भारत जाने वाध्यता हटेको छैन, नेपालमै रोजगारी सिर्जना भए यसरी भारतका गल्ली चहार्नुपर्ने थिएन,’ उनले भने । आफू ४ गते मतदान गरेर ६ गते भारतका लागी हिँडेको उनको भनाई छ ।

नेपालमा काम नभएको र भारतका विभिन्न सहरमा कामको खोजीमा पलायन हुनु परेको रोजगारीका लागी भारत जानेहरूको गुनासो छ । भारत जान हुल बाँधेर अधिकांश नेपालीले स्वदेशमा रोजगारी नहुँदा परिवार पाल्न भारत जानु परेको गुनासो पोखेका छन् । अहिले भारत जानेमा अधिकांश २० वर्षको सेरोफेरोकै युवा छन् । भारत जानेमध्ये अधिकांशले मतदान गरेर पुनः रोजगारीको खोजीमा भारत पलायन भइरहेका छन् ।

‘स्वदेशमै रोजगारीको अपेक्षासहित नेताहरूलाई भोट हाल्न कहिल्यै छोडेको छैन तर हाम्रा दुःख उस्तै छन्,’ भारतमा लामो समयदेखि चौकीदारी गर्दै आएका केदारस्युँ गाउँपालिकाका अमृत रावलले बताए । यस्तो समस्या र दुःख सबै युवासँग मिल्दाजुल्दा हुन् ।

भारत जानका लागी सीमखेतस्थित बसपार्कमा बस पर्खिरहेका जयपृथ्वी नगरपालिका १ का गोरे कामीले भन्छन्, ‘म विगत दुई वर्षदेखी भारतमा काम गर्दै आएको थिए । चुनावको वेला नेताहरूले बोलाएर भोट पनि हाले, तर परिवारको खर्च टार्नका लागी फेरी भारत जाने सोच बनाएको छु । निर्वाचन अघि नेताहरूले खर्च दिएर नेपाल बोलाए तर भारत जाँदा नजाऊँ यहीँ रोजगारी दिन्छौ भन्ने कोही नेता पनि भेटिएनन् ।’ 

स्वदेशमा कुनै काम नै नपाइएपछि बाध्य भएर फेरी भारत जानु परेको युवाहरूको गुनासो छ । नेपालमा बढीभन्दा बढी रोजगारी सिर्जना नगरिएसम्म काला पहाड जानै पर्ने बाध्यता बाँकी रहने उनीहरूको दुखेसो छ । आफ्नो देशमा काम नपाएपछि भारत जानुको विकल्प नहुँदा हुलका हुल सुदूर पश्चिमेली नागरिकहरू भारत पलायन हुने क्रम बढेको छ । युवाहरू मात्रै नभएर पछिल्लो समय परिवारसहित भारत जानेको संख्या पनि उत्तिकै बढेको छ । 

भारत नगई गुजारा नचल्ने भएपछि चौकीदारी गर्न भारत जान लागेको थलारा गाउँपालिकाका वडा नं। ५ दुवालीका गगन पार्कीले बताए । आइतबार सम्पन्न प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना नसकिँदै सुदूरपश्चिमबाट कामको खोजीमा भारतका विभिन्न सहर पस्ने क्रम दैनिक रूपमा बढ्दो छ ।

बाढी पीडितहरू पनि भारत पलायन
बझाङमा गत कात्तिकमा आएको बेमौसमी वर्षाका कारण आएको बाढीले ठुलो जनधनको क्षति गरेपछि यहाँका स्थानीयहरू परिवार पाल्नका लागी भारत पसेको थिए । थलारा गाउँपालिका वडा नं। ४ डिख्लामा पहिरोबाट सह परिवार गुमाएका नरे पार्की गाउँबाट नै विस्थापित समेत भएका छन् । पहिरोमा परेर ९ जनाको परिवारमा उनी र एक जना छोरी बाहेक सबै जनाको एकै चिहान भयो । त्यसपछि उनी गाउँमा नै नबस्ने गरी पलायन भए । 

गाउँपालिका लगायतका निकायले पीडितहरूको पुर्नस्थानाका लागी कुनै कार्यक्रम नल्याउँदा पछिल्लो समय नागरिकहरू भारतमा बसाइँ सर्ने क्रम बढ्दै गएको फियान नेपाल बझाङकी प्रमुख सीता सिंहले बताइन् । 

उनले भनिन् ‘चरम खाद्य संकट र कमाइ गरी खाने जग्गा जमिन नै नभएपछि स्थानीयहरूको उठीबास लागेको छ । यसलाई रोक्नका लागी स्थानीय सरकारले विशेष रूपमा लक्षित समुदायका लागी कार्यक्रमको व्यवस्था गर्न आवश्यक छ ।’