भारत प्रवेशमा नेपाली नागरिकलाई कडाइ
2022/12/07, 5:49
 
ss

दार्चुलाको महाकाली नदीमा एकतर्फी बनाइएको तटबन्धका कारण वारिपारि ढुंगा हानाहानपछि अहिले भारत जाने नेपालीलाई सीमामा कडाइ गरिएको छ । केही समयदेखि नागरिकता देखाएर धारचुला प्रवेश गराएको भारतीय सीमा सुरक्षा बल एसएसबीले आन्दोलनमा सहभागी नेपाली नागरिकको कडा निगरानी गरेको हो । 

भारतले तटबन्ध बनाउन थालेपछि दार्चुला प्रशासनले गत वर्ष २ पुसमा भारतीय प्रशासन धारचुला तहसिल कार्यालयलाई निर्माण कार्य रोक्न पत्राचार गरेको थियो । तर, भारतीय पक्षले त्यसको बेवास्ता गर्दै निर्माण कार्य जारी राखेपछि जनता प्रतिकारमा उत्रिएका हुन् ।

आइतबार आक्रोशित नेपालीले नेपाल भारत जोड्ने झोलुंगे पुलमा अढाई घन्टा तालाबन्दी गरे भने सोमबार भारतीय व्यापारीले दुई घन्टा भारततर्फ तालाबन्दी गरे । भारतीय व्यापारीहरूले ढुंगा हान्ने स्थानीयलाई पक्राउ गरी कारवाही गर्नुपर्ने सर्त अघि सारेको छ । उसले तीन दिनभित्र कारवाही गरेको जानकारी पाउनुपर्ने, नभए फेरि अन्तर्राष्ट्रिय झोलुंगे पुलमा ताला लगाउने चेतावनी दिएको छ । भारतीय व्यापार मण्डलका अध्यक्ष भूपेन्द्र थापाले भारततर्फको आन्दोलन कस्तो हुने विषयमा छलफल गरिने उल्लेख गरेका छन् ।

भारतले पछिल्लो समय तटबन्ध बनाउने भन्दै बगर क्षेत्रबाटै महाकाली नदीको धार नेपालतर्फ फर्काएपछि विरोध चर्किएको हो । नेपाल र भारतबीच तटबन्धको विषयमा तीनपटक ढुंगा हानाहान भइसकेको छ । सरकारले भारतको सीमा विवादलाई नीतिगत रूपमा टुंग्याउन नसक्दा दार्चुलावासी त्रासमा बाँच्दै आएका छन् ।

भारतीय पक्षले एकलौटी रूपमा सीमा नदी महाकालीमा ठूलो पर्खाल लगाउँदा महाकाली नदी आफ्नो प्राकृतिक धार परिवर्तन गरी करिब १० मिटर नेपालतर्फ धकेलिएको छ । भदौमा आएको बाढीले नेपालतर्फको पक्की तटबन्ध बगाएको छ । भारततर्फ बगर बनेको छ । नदीको पूरै बहाव नेपालतिर छ । सदरमुकाम खलंगाको बंगाबगड क्षेत्रमा तटबन्ध नहुँदा पूरै जोखिम बढेको छ ।