बैतडीको सिगास गाउँपालिकामा १२ हजार घरधुरी मात्रै बत्तीको पहुँचमा 
2022/12/11, 1:10
 
ss

बैतडीको सिगास गाउँपालिकामा हालसम्म १२ हजार घरधुरी मात्रै बत्तीको पहुँचमा पुगेका छन्। उपभोक्ता समितिमार्फत विद्युत् विस्तारको काम गराउँदा लापरबाही भएको सिगास गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कवीन्द्र ओझाले बताए।

उनले भने, भुक्तानी लगेर पनि उपभोक्ता समितिले राम्रो काम गरेनन्। गाउँपालिकाभरि विद्युत् नहुँदा पालिकाको काममा समेत समस्या हुने गरेको छ। बैतडीका कुल ४५ हजार घरधुरीमध्ये हालसम्म १२ हजार घरधुरीमा मात्रै बत्तीको पहुँच पुगेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओझाले बताए।

विद्युत् नहुँदा गाउँपालिकादेखि वडा कार्यालय र बैङ्कको सेवा प्रभावित हुने गरेको छ। घाम लागेको दिन सोलारले काम गरे पनि बादल लागेको दिन यहाँ टेलिफोनको नेटवर्कसमेत आउँदैन। फोटोकपी गर्न यहाँका स्थानीयले १० रुपियाँदेखि ५० रुपियाँसम्म तिर्नुपर्ने बाध्यता रहेको सिगास गाउँपालिका–१ का पदम ऐरले गुनासो गरे।

विद्युत् नहुँदा वडा कार्यालयमा रहेको आधारभूत स्वास्थ्य संस्थामा बालबालिका र गर्भवती महिलाले पाउनुपर्ने अत्यावश्यक खोपसमेत राख्न नसकिएको स्वास्थ्य संस्थाका नरेन्द्र ऐरीले बताए। फ्रिजमा खोप भण्डारण गर्न विद्युत् आवश्यक पर्ने भएकाले आधारभूत स्वास्थ्य संस्थामा खोप राख्न नसकिएको संस्थाका नरेन्द्र ऐरीले बताए।

खोप लगाउने दिन गाँजरी स्वास्थ्य चौकीबाट खोप मगाएर लगाउने गरिएको उनले बताए। विद्युत् भए खोप भण्डार गर्न सकिने र सुत्केरी सेवा दिँदा सोलार टुकी बाल्नुपर्ने बाध्यता हट्ने उनले बताए। बैतडीको सिगास गाउँपालिकाले बितेको पाँच वर्षमा १० करोड ७० लाख रुपियाँभन्दा बढी खर्च गरिसकेको छ।