बसन्तमा पाक्ने काफल मंसिरमै पाक्यो
2022/12/12, 12:39
 
dd

चिसोका कारण छेउछाउमा तुषारो जमिरहेको छ तर चैत–वैशाखमा पाक्ने काफल मङ्सिरमै रातो हुन थालेको छ । काफलको रुखमुनि भवगान् गणशेको जस्तो आकृति र अद्भूत गुफा भएका कारण यहाँ चार दशकदेखि पूजा हुँदै आएको छ । वसन्त ऋतुमा पाक्ने काफल हेमन्त ऋतुमै रातो हुन थालेपछि प्रकृतिको लीला र दैवीय कारणले सधैँ यस्तो हुने गरेको जनविश्वास छ ।

बैतडीको सिगास गाउँपालिका–१, गोलेधारको ठूलाखोमा यस्तै जनविश्वास बलियो बनाउने गरी मङ्सिरमै काफल पाकेको हुन सक्ने स्थानीय धार्मिक अगुवा रामप्रसाद भट्टले बताए । उनले भने,‘मलाई ३० वर्ष पहिले यो स्थानका बारेमा सपनामासमेत जानकारी भएको थियो । सपनाअनुसार काफलको रुखमुनि गएर हेर्दा गणेशको जस्तो आकृति र सँगै अर्को अद्भूत गुफा भेटियो । पछि सो स्थानमा पूजासमेत हुन थालेको हो ।’

गुफा र काफलको संरक्षणका लागि त्रिशूल बनाएर पूजा गर्दै आइरहनुभएका स्थानीय दिक विश्वकर्माले यो काफलको फल कहिल्यै रित्तो नहुने बताए । उनले भने,‘काफलको रुखमुनि अद्भूत गुफा छ। यहाँ चार दशक अधि दोगडा भूमिराजको थपना राखेर पूजा गर्दै आइरहेका छौँ । बैतडीको दोगडाकेदारबाट बसाइँसराइ गरेर आउँदा भण्डारमा रहेका तामाका भाँडाकुँडा पूज्न यहाँ हाम्रा पूर्वजले भूमिराजको थपना राखेका थिए । दोगडाधामकै प्रतीकका रूपमा हामीले पूजा गर्दै आइरहेका छौँ । दोगडाधाम बैतडीको प्रसिद्ध मन्दिर हो ।’

उनका अनुसार जलवायु परिवर्तनका कारणले पाँच महिनाअघि नै काफल पाकेको मान्ने हो भने छेउछाउमा रहेका अन्य काफलमा बाला लागेको देखिन्छ, दाना पाकेको देखिँदैन । यहाँ दर्शन गर्न आउनेले जहिले पनि काफलको रुखमा फल लागेको पाउने गरेको उनले बताए ।   गुफा र काफलको रुख नजिकै त्रिशूल र घण्टीहरू राखिएका छन्। रुखमुनि रहेको गुफाको पूजा हुने गरेको छ । सिगास गाउँपालिका–१ को वडा कार्यालयबाट करिब चार किलोमिटर तल खरकेउडा बजार झरेपछि गोलेधारबाट ठूलाखोलामा रहेको गुफा नजिक पुग्न सकिन्छ । मनोकामना पूरा गर्न यहाँ तराईबाटसमेत भाकलको पूजा गर्न आउने गरेको स्थानीय सिद्धराज भट्टले बताए । 
दशकअघि फेला परेको गुफाका बारेमा विस्तृत अध्ययन र अनुसन्धान भने हुन सकेको छैन। गुफाको लम्बाइ र उचाइका बारेमा खोज अनुसन्धान नहुँदा यो गुफा कति लामो छ रु भन्ने कुनै जानकारी नभएको स्थानीय दीपक विश्वकर्माले बताए । गुफा र काफल आफ्नो घर र खेतसँगै जोडिएको हुनाले पूजा गर्दै आइरहेको उनले बताए ।  

गुफा रहेको वडाका स्थानीयवासी बसाइँसरेर तराई झरेपछि आफ्नो मनोकामना पूरा भएको भन्दै फर्केर यहाँ पूजा गर्न आउने गरेको स्थानीयले बताएका छन् । गुफा र काफल भएको ठाउँमा मन्दिर स्थापना गर्नसके यहाँ दर्शन गर्न आउनेलाई सहज हुने स्थानीयले बताएका छन्। गुफाको संरक्षण र खोज विस्तृत खोज अनुसन्धानका लागि स्थानीय सरकारसँग पनि यहाँका धार्मिक अगुवाले माग राखेका छन् ।