बैतडीमा जिप दुर्घटना हुँदा चालक सहित ६ जना घाइते
2022/12/15, 3:06
 
Accident

बैतडी – बैतडीको पुर्चौडीमा जिप दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । जिल्लाको पुर्चौडी नगरपालिका वडा नम्बर वडा नं ६ सुइलेकमा जिप दुर्घटना हुँदा चालक सहित ६ जना घाइते भएका हुन्। बुधबार राती धनगढी बाट बझाङको बुङ्गल नगरपालिका गइरहेको सु.प.प्र ०१–००१ च ३३८८ नम्बरको जिप दुर्घटना हुँदा ६ जना सामान्य घाइते भएका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए।

उनकाअनुसार घाइते हुनेमा बुङ्गल नगरपालिका वडा नम्बर ७ अठ्पालीकी ४५ वर्षिया हर्का देवी धामी, २० वर्षिय सचिन धामी ,बुङ्गल नगरपालिका ८ कि ५० वर्षिया मैना देवि बोहरा , बुङ्गल नगरपालिका वडा नम्बर ४ कि ४८ वर्षिया लाली देवि कार्की, ५२ वर्षिय धनसरा सिंह र जिप चालक डोटीको जोरायल गाउँपालिका २ का ५५ वर्षिय बिष्णु भट्ट रहेका छन । घाइतेहरुको देउलेख स्वास्थ्य चौकीमा उपचार भइरहेको प्रहरी निरीक्षक जोशीले बताए । जिप सडकबाट करिब १ सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।