सिँगारिँदै सुदूरपश्चिम प्रदेशसभा भवन, नवनिर्वाचित सदस्यलाई रावलले गराउनेछन् शपथ
2022/12/20, 1:00
 
सिँगारिँदै सुदूरपश्चिम प्रदेशसभा भवन, नवनिर्वाचित सदस्यलाई रावलले गराउनेछन् शपथ

धनगढी - सुदूरपश्चिम प्रदेशसभा सचिवालय प्रदेशसभाको दोस्रो कार्यकालको पहिलो बैठकको तयारीमा जुटेको छ । सचिवालयका कर्मचारीहरू यतिबेला सभा हलको साजसज्जामा जुटिरहेका छन् । कुर्सी, टेबल, विद्युतीय उपकरणलगायत व्यवस्थित गर्ने काम धमाधम भइरहेको छ ।

धनगढीस्थित जिल्ला समन्वय समितिको हाताभित्र रहेको प्रदेशसभा भवनको रङरोगन यसअघि नै भइसकेको छ । बैठक कक्षभित्र सभामुख र सदस्यहरूको आशनलाई चिटिक्क पारिँदै छ । यूएनडीपीको संसद् सहयोग परियोजनाअन्तर्गत प्रदेशसभा भवनमा रहेका विद्युतीय उपकरण र फर्निचरलगायत सामग्री फेरिएको सचिवालयले जनाएको छ । करीब २० लाख रुपैयाँ सहयोगमा माइकलगायत विद्युतीय उपकरण र फर्निचर नयाँ राखिएको सचिवालय सचिव देवबहादुरबोगटीले बताए ।

धनगढी उपमहानगरले बजारको मुख्य सडक क्षेत्र फराकिलो गर्न वरपरका भवन भत्काइरहेको छ । त्यसक्रममा प्रदेश सभाअगाडिको भवन पनि भत्काउनुपरेको छ । यसअघि विभिन्न दलहरूका संसदीय दलको कार्यालय रहेका भवन भत्काइएकाले अहिले त्यसका लागि वैकल्पिक व्यवस्थापन भइरहेको बोगटीले जानकारी दिए ।

प्रदेशसभाको पहिलो बैठक कहिले बस्ने भन्नेबारे अझै निश्चित भइसकेको छैन । तर, आगामी पुस १८ भित्र अधिवेशन आह्वान गरिसक्नुपर्ने संवैधानिक सीमा छ । निर्वाचन आयोगले प्रदेशसभा निर्वाचनको अन्तिम परिणाम आइतबार प्रदेश प्रमुखसमक्ष पेश गरिसकेको छ । आयोगले प्रदेश प्रमुखसमक्ष प्रतिवेदन पेस गरेको २० दिनभित्र अधिवेशन बोलाउनुपर्ने संवैधानिक व्यवस्था छ । त्यसअघि प्रदेश प्रमुखको कार्यालयले प्रदेश सभा सचिवालयलाई निर्वाचित प्रदेश सभा सदस्यको व्यक्तिगतविवरण पठाउनेछ ।

प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुखले पुस १८ भित्रै संसद् अधिवेशन आह्वान गरिसक्नु पर्ने हुन्छ । अब प्रदेश प्रमुखले सरकार गठनको पनि आह्वान पनि गर्नेछन् । ‘पुस ११ तिर बैठक हुन सक्ने सम्भावनामा छलफल भइरहेको छ,’ सचिव बोगटीले भने, ‘आयोगले प्रतिवेदन पेस गरेको ३० दिनभित्र सरकार गठन भइसक्नुपर्ने संवैधानिक व्यवस्था छ ।’

प्रदेशसभामा दोहोरिने ४ जना मात्रै

सुदूरपश्चिम प्रदेशसभामा १९ सदस्यसहित कांग्रेस सबैभन्दा ठूलो दल भएको छ । माओवादी केन्द्रले ११, एमालेले १० र नागरिक उन्मुक्ति पार्टीले ७ सिट जितेको छ ।

यसअघि, प्रदेशसभामा ठूलो दल रहेको नेकपा (एकीकृत समाजवादी) भने ४ सिटसहित पाँचौं स्थानमा पुगेको छ । समानुपातिकबाट एक सिट हात पारेको राप्रपा छैटौं दल बनेको छ । एक जना स्वतन्त्रबाट निर्वाचित भएका छन् ।

प्रत्यक्षबाटै निर्वाचन जित्दै ४ सांसद दोहोरिएका छन् । जसमा माओवादीका मानबहादुर धामी र अक्कलबहादुर रावल, एकीकृत समाजवादीका दीर्घबहादुर सोडारी र प्रकाशबहादुर रावल छन् । अन्य सबै ४९ जना नयाँ अनुहार हुन् ।

प्रदेशसभाको लोगोको आकार बढाएर ठूलो बनाउने तयारी पनि गरिएको छ । नवनिर्वाचित प्रदेशसभा सदस्यहरूका लागि चाँदी र सुनको जलपसहितको लोगो बनाउने काम पनि भइरहेको सचिवालयले जनाएको छ । शपथपछि लोगो सांसदलाई वितरण गरिनेछ ।

रावलले गराउनेछन् शपथ

प्रदेश सभाका नवनिर्वाचित सदस्यहरूलाई अछाम क्षेत्र–२ (२) बाट निर्वाचित मानबहादुर रावलले पद तथा गोपनीयताको शपथग्रहण गराउने भएका छन् । निर्वाचन अयाोगले शनिबार प्रदेश प्रमुख देवराज जोशीलाई पेस गरेको निर्वाचनको अन्तिम प्रतिवेदनअनुसार रावल नै सबैभन्दा ज्येष्ठ सदस्य हुन् । ६८ वर्षीय रावलले कांग्रेसबाट टिकट पाई जित हात पारेका थिए ।

अधिवेशन आह्वानअघि सांसदहरूको शपथ गराइने व्यवस्थाअनुरूप निर्वाचितमध्ये सबैभन्दा ज्येष्ठ प्रदेशसभा सदस्यलाई प्रदेश प्रमुखले पद तथा गोपनीयताको शपथ गराउनेछन् । त्यसपछि उनै ज्येष्ठ सदस्यले अन्य सदस्यहरूलाई शपथ गराउने व्यवस्था छ । जसअनुसार रावल नै उमेरले सबैभन्दा पाका छन् । सुरुमा रावलले प्रदेश प्रमुखबाट शपथ ग्रहण गर्ने र पछि उनै रावलले नवनिर्वाचित ५२ सांसदलाई शपथ खुवाउने छन् । सचिवालय सचिव बोगटीले ज्येष्ठ सदस्य रावल नै भएको प्रारम्भिक जानकारी आएको र थप अध्ययनपछि अन्तिम टुंगो लाग्ने बताए । ‘३ जना ज्येष्ठ सदस्यको नाम प्रदेश प्रमुखसमक्ष सचिवालयले जानकारी गराउने प्रक्रियाअनुरुप काम भइरहेको छ,’ उनले भने ।