एक किलो सलह ल्याउनेलाई सुदूरपश्‍चिम प्रदेश सरकारले २५ रुपैयाँ दिने
2020/06/28, 3:41
 
salah

एक किलो सलह ल्याउनेलाई सुदूरपश्‍चिम सरकारले २५ रुपैयाँ दिने भएको छ । प्रदेश सरकारको कृषि तथा भूमि व्यवस्था मन्त्रालयले सलह किरा २५ रुपैयाँ किलोको दरमा खरिद गर्ने भएको हो ।

मन्त्रालयमा आइतबार आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता खगेन्द्र प्रसाद शर्माले बालीनालीका लागि महामारीको रुपमा आउने सलह किरा मारेर ल्याउने किसानलाई प्रति किलो २५ रुपैयाँ दिने बताएका हुन । ‘अहिलेसम्म सुदूरपश्चिममा सलह आइसकेको छैन,’ उनले भने,‘किसानलाई सर्तक भइराख्‍न आहृवान गरेका छौं ।’

मन्त्रालयले सलहलाई नियन्त्रण गर्न स्थानीय तहमा सलह टिम परिचालन गरिने उनले बताए । प्रदेश ५ को सीमासंग जोडिएको कैलालीको पूर्वी क्षेत्र जोशीपुर, टिकापुर, लम्की चुहा, जानकी गाउँपालिकामा सलह टिम परिचालनका लागि तयार भएको मन्त्रालयले बताएको छ । यसैबीच सलह नियन्त्त्रणका लागि कृषि क्षेत्रीय निर्देशकको संयोजक्तवमा प्रदेश स्तरीय ‘रेपिड रेस्पोन्स टिम’पनि गठन भएको प्रवक्ता शर्माले जानकारी दिए ।

यस्तै जिल्लाहरुमा ज्ञान केन्द्र स्तरीय टिम पनि गठन गरिएको उनले बतए । कञ्चनपुरको पुर्वी बेलौरी, पुर्नवास र पहाडी जिल्लामा फौजी किराले समेत बालीनालीमा नोक्सान पुर्‍याारहेको उनले बताए । ‘बेलौरी र पुर्नवास क्षेत्रमा फौजी किरा नियन्त्रणमा आइसकेको छ,’उनले भने,‘जहाँ फौजी किराले बालीनालीमा आक्रमण भएको सुनिएको छ, स्प्रे लगायतका काम गर्न टिम नै गठन गरेर परिचालन गर्न थालेका छौं ।’