घरभित्रै बाँदर पस्न थालेपछि बैतडीका नागरिक त्रसित,खेत बाँझै छोडे
2022/12/21, 1:15
 
ss

बैतडीमा घरभित्रै पसेर बाँदरले आतंक मच्चाउन थालेपछि बैतडीका नागरिक त्रसित बनेका छन् । सोमबार मात्रै घरभित्रै बाँदरको झुण्ड पसेर दोगडाकेदार गाउँपालिका ४ मा एक जना महिला बाँदरको आक्रमणबाट घाइते भएकी छन् । भान्सामा खाना पकाइरहेका बेला घरभित्र पसेका बाँदर धपाउँदा ५० बर्षीया मीना भट्ट बाँदरको आक्रमणबाट घाइते भएकी हुन् । दोगडाकेदार –४ पीपलकोटमा बाँदरले आतंक मच्चाउँदा स्थानीयहरुले खेत बाँझै छोडेका छन् ।

खेतमा लगाएको बालीनाली बाँदरले सखाप पार्न थालेपछि खेत बाँझै छोडेको स्थानीय सत्यदेव भट्टले बताए । उनले भने ‘बाँदरले बालीनाली सखाप पार्न थालेपछि हामीले खेती गर्न छोडेका छौं । अहिले बाँदरहरु घरभित्रै पसेर अन्न खान थालेका छन् ।’ बाँदर आतंकका कारण खेतबारी पुरै बाँझै छोडिएको पीपलकोटका अर्का स्थानीय इन्द्रदेवशरण भट्टले बताए । खेतमा लगाएको अन्न भित्र्याउन नपाइने भएपछि खेत बाँझै छाड्न बाध्य भएको भट्टले बताए । उनले भने ‘अहिले बाँदरले घरभित्रै पसेर नोक्सान गर्न थालेका छन् ।

मान्छेमाथि समेत बाँदरले आक्रमण गर्नथालेपछि हामी त्रसित भएका छौं ।’ बाँदरले फलफूल समेत केही बाँकी नराखेको भट्टले बताए । बाँदरकै कारण धेरै जनाले बसाइँ–सराई समेत गर्न थालेका छन् । यस्तै जिल्लाको दशरथचन्द नगरपालिकाका विभिन्न वडामा पनि बाँदरको आतंक कायमै रहेको छ । बाँदरका कारण धेरैजसो खेत बाँझै राखिएका स्थानीय डम्मर टमाटाले बताए । बाँदरले बालीनाली, फलफूल केही पनि बारीमा बाँकी नराख्ने गरेको उनले बताए ।