तराईमा चिसो बढ्यो, जनजीवन प्रभावित
2022/12/28, 2:27
 
ss

कैलालीसहित तराईमा ह्वात्तै चिसो बढेको छ । मंगलवारदेखि बाक्लो हुस्सुका कारण घाम लाग्न नसकेपछि अत्यधिक चिसो बढेको हो । हुस्सु लागेसंगै विहान पख शीतलहर चल्न सुरु भएको छ । यसैगरी, पश्चिमबाट चिसो बतास चलिरहेको छ । सोमबारसम्म घाम लागेको थियो । तर, मंगलबारदेखि एक्कासी अत्यधिक चिसो बढेपछि जनजीवन प्रभावित भएको छ । जाडोले गर्दा निम्न वर्गका परिवार, बालबालिका, मुक्त कमैया, ज्येष्ठ नागरिकलाई अत्यधिक समस्या भएको छ ।

जाडोले मान्छेको दैनिकीमा पनि असर भएको छ । एक्कासी जाडो बढेपछि मुक्त कमैया परिवार, सीमान्तकृत समुदाय र निम्न वर्गका मान्छे समस्यामा परेका छन् । काम गरेर दुई छाक टार्ने मजदुर, किसान वर्गलाई जाडोले गर्दा समस्या भएको छ । जाडोका कारण काम गर्न समस्या भइरहेको धनगढीमा नाली बनाउने काम गरिरहेका मजदुर रामदुलार चौधरीले बताए ।

‘जाडोमा सिमेन्ट, गिट्टी, बालुवाको काम गर्न समस्या हुने गर्दछ’, उनले भजे । यसैगरी, गहुँ सिँचाइ गरिरहेका किसान पनि जाडोका कारण सकी नसकी काम गर्न बाध्य छन् ।हुस्सुका कारण धनगढी लगायतका क्षेत्रमा घाम लाग्न सकेको छैन । घाम नलाग्दा तापक्रम अझै घट्दै गएको छ । चिसो बढेपछि जनजीवन प्रभावित भएको छ । चिसोबाट जोगिनका लागि मान्छेहरु सडक छेउछाउ, घर लगायत विभिन्न ठाउँमा आगो ताप्न थालेका छन् ।

एक्कासी बढेको चिसोले काम गर्न समस्या भएको अटो चलाउँदै आएका रामचरण चौधरीले बताए । उनले चिसोका कारण दिनभरि अटो चलाउन नसकेको उल्लेख गर्दै भने,‘एकैचोटी चिसो बढेपछि काम गर्न कठीन भएको छ ।  चिसो बढेपछि बालबच्चाहरुलाई विद्यालय जान समस्या भएको धनगढी उपमहानगरपालिका–८ की कलावती भट्टले बताइन् । ‘चिसोले साना बालबच्चासहित विद्यार्थीलाई समस्या छ’, आफ्नो बच्चालाई विद्यालय पठाउन जाने क्रममा बाटोमा भेटिएकी उनले भनिन्,‘न्यानो कपडा नहुने बच्चाहरुलाई धेरै समस्या हुने भो ।’ 

जाडो याममा विद्यार्थीहरु विद्यालयको पोशाकमा विद्यालय जानू पर्ने बाध्यता छ । कतिपय विद्यालयले जाडोका लागि स्वीटर, कोट, ब्लेजर र ट्राजरमात्रै विद्यार्थीले लगाउन पाउने नियम बनाएका छन् । विद्यालयका यस्तो नियमले जाडो याममा विद्यार्थीले समस्या खेपिरहेको अभिभावक ओम जोशी बताउँछन् । ‘विद्यालयको आफ्नो नियम ठीकै हो तर, जाडो याममा केही कुरा कम्प्रोमाइज गर्नुपर्छ’, उनले भने,‘स्वीटरको भरमा विद्यार्थीले जाडो काट्न सक्दैनन्।’ 

चिसोले बालबच्चालाईमात्रै हैन ज्येष्ठ नागरिक पनि प्रभावित भएका छन् । बुढापाकालाई जाडो कटाउन धेरै समस्या हुने गरेको बताइन्छ । जाडो बढेको बेला बुढापाकाहरु घरभित्रै न्यानो भएर बस्नु उपयुक्त रहेको भट्टको सुझाव छ । चिसोले गर्दा विभिन्न स्वास्थ्य समस्या हुन सक्ने भएकाले चिसोबाट जोगिनु पर्ने स्वास्थ्यकर्मीको सुझाव छ । चिसोका कारण खास गरेर निमोनिया, विभिन्न भाइरल रोग लाग्न सक्ने धनगढी उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख कुम्भराज शर्माले बताए ।

उनले चिसोमा रोटा भाइरसका कारण बच्चाहरुलाई भाइरल डायरिया हुन सक्ने सम्भावना रहेको उल्लेख गरे । ‘त्यसैले चिसोमा बच्चा, वृद्धवृद्धाको एकदमै ध्यान दिनु पर्दछ’, उनले भने,‘उनीहरुलाई चिसो लाग्नबाट जोगाउन आवश्यक छ ।’चिसोबाट जोगिनका लागि न्यानो कपडा लगाउनु पर्ने, ननिस्कने जस्ता उपाय अपनाउन सकिने स्वास्थ्यकर्मीको सुझाव छ । यसैगरी, तातो पानी र तातो झोलिलो पदार्थ खाएमा फाइदा हुने शर्माले बताए ।